भेन्टिलेटरको अभावमा ज्यान गुमाउँदै छन् कोरोना संक्रमित

प्रदेश २ मा कोरोना भाइरसकाे अवस्था भयावह भए पनि तयारी भने नाम मात्रको छ। सबैभन्दा बढी संक्रमित रहेको प्रदेशमा आइसियु र भेन्टिलेटरको अभावमा कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका छन्।

यस प्रदेशमा कोरोना संक्रमित अत्याधिक भए पनि अहिलेसम्म यहाँ आइसियु र भेन्टिलेटरको  अभाव छ। प्रदेश सरकारको तयारी अहिलेसम्म अनुगमन र निर्णयमै सिमित रहेको छ।

यहाँ अहिलेसम्म ६ हजार ६८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ हजार ६ सय २६ जना सक्रिय संक्रमित रहेका छन्। २६ सयभन्दा बढी सक्रिय संक्रमित रहेपनि यहाँ अहिलेसम्म १५ वटा आइसीयु र १० वटा भेन्टिलेटर रहेका छन्। १० वटा भेन्टिलेटर रहे पनि ६ वटा भेन्टिलेटर मात्र प्रयोगमा रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताए।

प्रादेशिक अस्पताल जनकपुरमा ३ वटा भेन्टिलेटर र ७ वटा आईसीयु रहेका छन्। त्यस्तै नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा ३ वटा भेन्टिलेटर र ८ वटा आईसीयु रहेको झाले बताए। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ४ वटा भेन्टिलेटर रहेपनि आईसीयु नहुँदा त्यसको प्रयोग भएको छैन।

गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका निमित मेसु रञ्जित झाका अनुसार अस्पतालमा भेन्टिलेटर भएपनि आईसीयुको अभावमा त्यसको प्रयोग हुन सकेको छैन।

उनले भने, ‘हामी निजी स्तरको अस्पतालसँग समन्वयमा आईसीयु सञ्चालनमा ल्याउन कुरा गरिरहेका छौँ। एक दुई दिनमा यहाँ आईसीयु सञ्चालनमा आउन सक्छ।’

गजेन्द्र नारायण सिंह अस्पतालमा ८४ जना संक्रमित रहेका छन् भने ६ जना संक्रमितमा लक्षण देखिएको छ।

प्रदेशमा कोरोना संक्रमित बढदै गएपनि प्रदेश सरकारले भने यसतर्फ कुनै चासो देखाएको छैन। प्रदेश सरकारको तयारी अहिलेसम्म अनुगमन र विभिन्न निर्णय गर्नुमै सिमित रहेको छ। धनुषामा गत साता एक कोरोना संक्रमितको भेन्टिलेटरकै अभावमा मृत्यु भएको थियो।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षिय युवकलाई भेन्टिलेटरको आवश्यकता रहेपनि प्रादेशिक अस्पतालको सबै भेन्टिलेटर प्रयोगमा रहेकोले संक्रमितलाई यहाँबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएको थियो।

गत वैशाखदेखि नै प्रदेश दुईमा कोरोना संक्रमितको चाप बढ्दै गइरहेको छ भने कोरोनाकै कारण प्रदेश दुईमा ३० जनाको मृत्यु भइसकेको छ। प्रदेश दुईमा सबैभन्दा बढी पर्सामा १९ जना, धनुषामा ३, बारा, रौतहट र सप्तरीमा २/२ जना तथा महोत्तरी र सिरहामा १/१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रदेश दुईमा ४० भेन्टिलेटर


प्रदेश दुईका आठ जिल्लामध्ये तीन जिल्लाको सरकारी अस्पतालमा मात्रै भेन्टिलेटर छ भने वीरगञ्ज र जनकपुरधामका सरकारी अस्पतालमा मात्र आईसीयू छ। प्रदेश दुईमा सरकारी अस्पताल र निजी अस्पताल मिलाएर कुल ४० वटा भेन्टिलेटर रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताए।

प्रदेश दुईमा सबैभन्दा बढी निजी स्तरमा संचालित पर्साको नेशनल मेडिकल कलेजमा २५ वटा भेन्टिलेटर छन्। निजी स्तरमै संचालित जनकपुरधामको जानकी मेडिकल कलेजसंग ५ वटा भेन्टिलेटर रहेका छन्। सरकारी स्तरमा संचालित अस्पतालहरुमा प्रदेश दुईमा सबैभन्दा बढी ४ वटा भेन्टिलेटर सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छन्। तर त्यहाँ आईसीयू छैन। आइसीयु नभएका कारण त्यहाँको भेन्टिलेटर प्रयोगविहीन छ।

‘आईसीयू र भेन्टिलेटर दुबै एकसाथ भए मात्र अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिन्छ।’ वरिष्ठ प्रशासन झाले भने।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा पहिला दुई वटा भेन्टिलेटर थियो भने अहिले एउटा ब्रिग्रेको भेन्टिलेटरलाई बनाएर प्रयोगमा ल्याइएको छ। वरिष्ठ जनस्वास्सथ्य प्रशासक झाका अनुसार जनकपुरधाममा कम्तीमा ५ वटा भेन्टिलेटर आवश्यक छ। पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा ३ वटा भेन्टिलेटर छ।

प्रदेशमा भेन्टिलेटर अभाव रहेको विषयमा आलोचना हुन थालेपछि गत वैशाख ८ गते प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो। भेन्टिलेटर खरिद गर्नका लागि प्रदेश सरकारले प्रत्येक जिल्लामा भेन्टिलेटरसहितको आईसीयु कक्षको व्यवस्था गर्नका लागि रकमसमेत निकासा गरिसकेको छ। प्रदेश सरकारले भेन्टिलेटर खरिद गर्नका लागि निर्णय गरेको तीन महिना बितिसक्दा समेत किन्न सकेको छैन।

सामाजिक विकास मन्त्रालयले गत असार ११ गते टेण्डर आह्वान गरेपनि प्रदेश सरकारले भेन्टिलेटर खरिद गर्ने नाममा करोडौंको भ्रष्टाचार गर्न लागेको केही संचारमाध्यममा समाचार बाहिरिएपछि टेण्डर नै रद्द भएको बताइएको छ।

यता सामाजिक विकास मन्त्री नवल किशोर साहले भने यस प्रदेशमा भेन्टिलेटरको पहिलेदेखि नै अभाव रहेको तर पत्रकारहरुले भेन्टिलेटर, भेन्टिलेटर गरेर मात्र समाचार बनाउने गरेको आरोप लगाए।

उनले भने, ‘भेन्टिलेटर नहुँदैमा मान्छे मरिहाल्छ? भेन्टिलेटरले मात्र कोरोनाको रोग निको हुँदैन। भेन्टिलेटरले एक प्रतिशत मान्छेलाई पनि बचाउन सकिँदैन।’

उनले विभिन्न सञ्चारमाध्यममा भ्रष्टाचारको समाचार आएपछि कर्मचारीहरु काम गर्न नमानेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close