कर्णाली प्रदेश अस्पताललाई ‘ब्याक टु लाइफ’ ले दियो १ करोड बराबरका स्वास्थ्य सामग्री

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले आज एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
प्रदेश अस्पताल सुर्खेत स्थित वीरेन्द्रनगरमा बुधबार सम्पन्न एक कार्यक्रममा अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदेश अस्पतालका निर्देशक प्रोफेसर डाक्टर डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई ब्याक टु लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युत प्रसाद पौडेलद्वारा हस्तान्तरण गरिएको हो ।
ब्याक टु लाइफ जर्मन आइ एन जी ओ हो । यस संस्थाले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । हाल कर्णाली प्रदेशको मुगु जिल्लामा र विकासका दृष्टिकोणले पछि परेका बागमती प्रदेशका केही जिल्लाहरुमा समेत स्वास्थ्य सहयोगका कार्य गर्दै आएको छ । सामुदायिक विकास र सहयोगको अलवा मुलुकले खेप्नु परेका अचानक आइलाग्ने प्राकृतिक एवम् स्वास्थ्य संकटको बेलामा ब्याक टु लाइफले सधैँ सक्दो राहत् कार्यक्रमका साथ सहयोग गरिरहेको छ । मुगुका सबै पालिकामा कार्यरत यस संस्थाले मुगु जिल्लामा १५ वटा बर्थिङ्ग सेन्टर सन्चालन गरेको छ । यस संस्थाले कोभिड १९ को उपचारको लागि मुगु र वागमती प्रदेशमा पटक-पटक मेडिकल र राहत सामग्री सहयोग गरिरहेको छ ।
उक्त कार्यक्रममा उपस्थित ब्याक टु लाइफका पब्लिक रिलेसन अधिकृत श्री अन्जन दाहालले उक्त हस्तान्तरण कार्यक्रम ४२  औं  सामाजिक सेवा दिवसको अवसर पारेर आयोजना गरिएको जानकारी दिनुभयो । संस्थाले बुधबार प्रदेश अस्पताललाई एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स रे मेशिन १ सेट हस्तान्तरण सहयोग गरेको अस्पतालका प्रमुख प्रशासक विनोद बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close