निर्मला हत्या प्रकरण अनुसन्धान अघि बढाइदै, डिआइजीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो ।

डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत हुनुहुन्छ । यसअघि उहाँ प्रहरी उपरीक्षक हुँदा सो घटनाको अनुसन्धानमा खटिनुभएको थियो ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सिआइबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी हुनुहुन्छ ।

उहाँहरूलाई सो घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको छ । यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सिआइबी नै खटिएकाले पनि सिआइबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो ।

गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिनुभएको थियो ।

विसं २०७५ साउनमा पन्तको बलात्कारपछि हत्या गरिएको थियो । अहिलेसम्म सो घटनाका दोषी पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close