नेकपा सचिवालय बैठक आज, चम्केला त वामदेवको भाग्य !

काठमाडौं- सांसद नै नरहेका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने मुख्य एजेन्डामा छलफल गर्न आज अपराह्न सत्तारुढ नेकपा नेकपा सचिवालयको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अराह्न बस्ने बैठकमा स्थायी कमिटी बैठकको मिति तोक्ने अजेन्डा पनि छ। यसबाहेक पार्टीमा उत्पन्न द्वन्द्व साम्य पार्ने विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले नेपाल समयलाई जानकारी दिए।

राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र तीव्र विवाद छ।

विवादकै बीचमा १७ गते बसेको बैठकमा केही अजेन्डामा छलफल भए पनि बिनानिष्कर्ष टुंगिएको थियो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने माग चर्को रुपमा उठेको थियो।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले प्रधानमन्त्रीलाई घेराबन्दी गरेपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए।

कोरोना भाइरस नियन्त्रणमा आएपछि आफूले राजीनामा दिने भनाइ ओलीको थियो। ओली स्थायी समिति बैठक बोलाउन पनि सहमत भएका थिए।

बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीले पार्टीसँग समन्वय नगरी अघि बढेको, कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न नसकेको, प्रधानमन्त्री भएर मनलाग्दी निर्णय गर्न थालेको, पार्टीका विभिन्न कमिटीको बैठक नडाकेर एकलौटी गर्न खोजेको भन्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका थिए।

१७ गतेपछि नेताहरुबीच पटकपटक छलफल भएको छ। शुक्रबार नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो। यस्तै अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि छलफल भएको छ।

दाहाल र नेपाल गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा आश्वस्त हुन नसकेको एक सचिवालय सदस्यले बताएका छन्।

ती सदस्यले भने, ‘संसद्‌मै नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नै सन्देहपूर्ण छ। यो प्रधानमन्त्री ओलीको सरप्राइज प्रस्ताव मात्र हो।’

वरिष्ठ नेता खनाल भने अहिले प्रधानमन्त्री ओलीकाे विकल्य अनिवार्य रहेकाे बताउँछन्। उनले भने, ‘उहाँको विकल्प अनिवार्य छ।’

अध्यक्ष ओलीले आजको बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने कार्ययोजनासमेत पेस गर्न सक्ने बताइएको छ। संविधानअनुसार प्रतिनिधिसभा सदस्य नभएकाे व्यक्ति प्रधानमन्त्री हुन पाउँदैन।

अध्यक्ष ओलीले गाैतमलाई प्रधानमन्त्री बनाउन नेकपाका कुनै सांसदलाई राजीनामा गर्न लगाएर उपनिर्वाचनकाे प्रस्तावसम्म गर्न सक्ने सचिवालयका एक सदस्य बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close