नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ।
पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले बैठक सार्नु परेको भन्दै पार्टीको बैठक यसअघि पटक पटक सर्दै आएको छ।
गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक बस्न नपाउँदै स्थगित गरेका थिए।
रवि लामिछाने नेतृत्वको पार्टीले आजसम्म गृह मन्त्रालय टुंगो लगाउन अल्टिमेटम दिएको छ। जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ। माओवादीको बैठकमा यो विषयसँगै नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी लाई गृह मन्त्रालय तत्काल नदिने अडानमा कायमै रहनुहुन्छ।
प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापतिबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने बताउनु भयो।
‘प्रधानमन्त्रीले अहिले कसैलाई गृहमन्त्री बनाउनु हुन्न। पहिलो कुरा सर्वोच्च अदालतको पूर्णपाठ आउनुपर्छ। दोस्रो राहदानीबारे पनि टुंगिनुपर्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘रवि लामिछानेजी गृहमन्त्री बन्ने भएकाले एउटा परिस्थितिमा उहाँलाई बनाइएको हो। तर अब जुनसुकै नेतालाई गृह मन्त्रालय दिने भन्ने हुँदैन।’
प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार हरिबोल गजुरेलले गृह मन्त्रालयबारे बाहिर आएजस्तै धारणा प्रधानमन्त्रीको रहेको बताउनु भयो।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close