मन्त्री बुढाक्षेत्रीको असार १५ बृद्धबृद्धासँग

सुर्खेत, १५ असार ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ जेष्ठ नागरिकहरुसँग मनाएका छन् । वीरेन्द्रनगरमा रहेको प्रशान्ति बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुसँग मन्त्री बुढाक्षेत्रीले असार १५ मनाएका हुन् । उनले आश्रममा रहेका २४ जना बृद्धबृद्धाहरुलाई फलफलु वितरण गर्नुका साथै दही च्यूरा पनि वितरण गरेका थिए ।

कार्यक्रममा मन्त्री बुढाक्षेत्रीले जेष्ठ नागरिकलाई सम्मान पूर्वक जीवनयापनको वातावरण बनाउने दायित्व सबैले पूरा गर्नुपर्ने बताए । जन्मेपछि सबै बुढो हुने बताउँदै उनले जेष्ठ नागरिकलाई सम्मान गर्नेलेनै सम्मान पाउने बताए ।

‘मानव जीवनमा सबै मानिसहरु एक पटक बुढो हुनैपर्छ, बुढो भएपछि हेलोहोचो गर्ने र घरबाट निकाला गर्ने प्रथाले कतिपय जेष्ठ नागरिकले दुःख पाउनु परेको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘यस्तो अवस्थाको अन्त्य गर्ने दायित्व राज्यका सबै नागरिकहरुको हो ।’ उनले दुःखमा परेकालाई प्रशान्तिले आश्रय दिई पालनपोषण गरेकोमा खुशी व्यक्त गरे । उनले बृद्धाश्रमले असाहय र आफ्नैबाट हेपिएका जेष्ठ नागरिकहरु राखेर पुण्यको काम गरेको भन्दै बृद्धाश्रमलाई सामाजिक विकास मन्त्रालयको पनि सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै बृद्धाश्रममा नेपालका विभिन्न जिल्लाहरुबाट आश्रय लिइरहेपनि भवन र संस्था व्यवस्थापनका लागि आर्थिक अभाव भएको संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । अहिले उक्त आश्रममा साहाराविहिन २४ जना जेष्ठ नागरिकहरु बस्दै आएका छन् ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close