कोरोना कहर : जोेखिममा सुरक्षा निकाय

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत पाँच जनामा कोरोना संक्रमण देखिएपछि कार्यालय नै सिल गरिएको छ। महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित सबै कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको हो।

महाशाखाबाट हुने सेवा प्रवाह अहिले ठप्प छ तर अहिले सडकमा सवारीको चाप भने बढेको छ। ट्राफिक जनशक्तिलाई कसरी फैलियो कोरोना ? महाशाखा प्रमुख एसएसपी ढकाल भन्छन्, ‘हामी सडकमा अहोरात्र खटिएका हुन्छौं। सवारीचालकसँगै कार्यालयमा आउने सेवाग्राहीको समस्या सम्बोधन गर्नै पर्यो‍। यहीबीच कोरोना सरेको हुनुपर्छ।’ ट्राफिक प्रहरीको अभाव खड्किएपछि जनपथतर्फका प्रहरीलाई ड्युटीमा खटाइएको छ।

त्यस्तै, प्रहरी मुख्यालयकै ७३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। संक्रमित अधिकांश सवारीसाधनको प्राविधिक काम (एमटी) महाशाखा र सञ्चार निर्देशनालयमा कार्यरत कर्मचारी छन्। प्रायः ब्यारेकजस्तै एकै ठाउँमा काम गर्ने एमटीका कर्मचारीलाई कसरी सर्यो‍ कोरोना ? प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार सुरुमा पाँच जनालाई लक्षण देखिएरै परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ६८ जनामा संक्रमण देखिएको हो। उनका अनुसार ट्राफिकका पाँच र मुख्यालयका ७३ जना संक्रमितको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

प्रवक्ता कडायतका अनुसार हालसम्म देशभरका विभिन्न प्रहरी युनिटका दुई सय ५६ जनामा संक्रमण देखिएको छ। जसमध्ये एक सय पाँच जना उपचारपछि काममा फर्किसकेका छन्। ७६ हजारको फौजमा दुई सय ५६ जनामा संक्रमण देखिँदैमा आत्तिनु नपर्ने कडायतको दाबी छ। तर, कार्य क्षेत्रमा खटिने सुरक्षाकर्मीमा भने त्रास देखिन्छ। नक्सालस्थित प्रहरी मुख्यालयमा कार्यरत एक सहायक निरीक्षकले भने, ‘म मैतीदेवीमा बस्छु। मुख्यालयमा काम गर्छु भन्ने थाहा हुनेहरू त्रसित छन्। परिवारमा पनि त्रास छ।’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले खासगरी ड्युटी अफिसर, मुद्दा शाखा, थुनुवा कक्ष र कार्य क्षेत्रमा खटिने सुरक्षाकर्मीमा कोरोनाको जोखिम रहेको बताए। उपत्यका बाहिर पनि त्रास कायमै पछिल्लो समयमा २ नम्बर र गण्डकी प्रदेशमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमणको त्रास बढी देखिन्छ। प्रहरी मुख्यालयका अनुसार भारतसँग सीमा जोडिएका जिल्लामा संक्रमणको त्रास छ।

प्रदेश २ का सप्तरी, महोत्तरी, पर्सा, सिरहा, बारा, सर्लाही, धनुषा र रौतहटमा कोरोनाको संक्रमण उच्च देखिएको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएसी) को विश्लेषण छ। वीरगन्ज अहिले कोरोनाको उच्च जोखिममा छ। त्यहाँ निषेधाज्ञा जारी गरिएको  छ। प्रदेश २ का आठ जिल्लामध्येको एक जिल्ला प्रहरी कार्यालयका प्रमुखले भने, ‘अवस्था भयावह छ, खटाएको ठाउँमा जानै पर्‍यो। मातहतलाई फकाएर कार्य क्षेत्रमा पठाउनुपर्ने अवस्था छ। सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई स्यानिटाइज गरेर मात्रै ब्यारेक प्रवेश गराउँछौं।’ प्रहरी मुख्यालयका अनुसार गण्डकी प्रदेशमा ४७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

त्यसमध्ये सात जना निको भएर काममा फर्किसकेका छन्। बाँकी ४० जना उपचाररत छन्। प्रदेश २ का ४७ संक्रमितमध्ये ३५ जना निको भइसकेका छन्। सुदूरपश्चिम प्रदेशका सीमा नाका भएका जिल्ला कैलाली र कञ्चनपुरमा विशेष सतर्कता अपनाइएको मुख्यालयले जनाएको छ। मुख्यालयका प्रवक्ता एसएसपी कडायतका अनुसार प्रदेश ५ मा १६, कर्णाली प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा १३ र प्रदेश १ मा २७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो। संक्रमितमध्ये अधिकांश उपचारपछि काममा फर्किसकेका छन्। कर्णालीका मात्रै २५ जना उपचाररत छन्। मुख्यालयले अत्यावश्यक कामबाहेक बिदामा बस्न रोक लगाएको छ।

कहाँ–कहाँ सिल ? 

प्रहरी प्रधान कार्यालयअन्तर्गतका एमटी, सञ्चार निर्देशनालय, ट्राफिक महाशाखा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय धनुषाको ब्यारेक र सप्तरीको राजविराजस्थित प्रदेश २ तालिम केन्द्रको ब्यारेक सिल गरिएको छ।

सशस्त्रमा १ सय ३१ लाई संक्रमण

कोरोना भाइरसको संक्रमण सशस्त्र प्रहरीमा पनि देखिन थालेको छ। विभिन्न कार्यालयमा खटिएका १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ। बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र बाँंकी सबै इलामका छन्। संक्रमितमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन्। अर्यालका अनुसार विशेषगरी सीमा सुरक्षामा खटिएका संक्रमित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close