वीरेन्द्रनगरमा घरमै टेलिमेडिसिन सेवा र ज्येष्ठ नागरिकको निशुल्क उपचार गर्ने कांग्रेसको प्रतिवद्धता

वीरेन्द्रनगर, २१ बैशाख । वीरेन्द्रनगर नगरपालिकामा गर्भवतीका लागि घरमै टेलिमेडिसिन सेवा र ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य उपचार हुने भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजय भएमा यी सेवा सञ्चालन गरिने भएका हुन् ।
नेपाली कांग्रेसले चुनावी वाचापत्रमार्फत स्वास्थ्य तर्फ १२ बुंदे एजेण्डा तयार गरेको छ । एजेण्डामार्फत स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती र घरका गर्भवतीका लागि घरमै टेलिमेडिसिन सेवा उपलब्ध गराउने जनाएको हो ।
वीरेन्द्रनगरका विकट वडाका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्नुका साथै नागरिकलाई घर आगनमै सेवा प्रवाह गर्नका लागि मासिक रुपमा हरेक वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
कांग्रेस उम्मेदवार निर्वाचित भएपश्चात अस्पताल, स्वास्थ्य संस्थासम्म आउन नसक्नेका लागि होम केयरको व्यवस्था गरिने बताइएको छ । नगरले नीजि क्षेत्रसँग सहकार्य गरी घरमै उपचार गर्न होम केयरको धारणा ल्याएको हो ।
खोप केन्द्र गाउँघर किल्निक लगायत समुदायमा आधारित सेवालाई प्रभावकारी बनाउँदै स्वयम्सेवीकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्ने, सुत्केरीलाई एक हजार नगदसहित ‘सुत्केरी सहायता भत्ता’ दिइने नीति कांग्रसले लिने भएको छ ।
यसैगरी, महिला स्वास्थ्य स्वयम्सेवीकाको घरलाई सरसफाई र प्राथमिक उपचार केन्द्रको रुपमा विकास गरि आफ्नो सेवा क्षेत्रभित्रका नागरिकलाई मौसम अनुसार लाग्ने स्वास्थ्य शिषा महिनामा एक पटक दिने व्यवस्था मिलाउनुका साथै यसवापत खाजा खर्च स्वरुप मासिक पाँच सय रुपैयाँ थप उपलब्ध गराउने कांग्रेसले प्रतिवद्धता जनाएको छ ।
वीरेन्द्रनगरका नागरिकको निशुल्क स्वास्थ्य उपचारका लागि नगरलाई ‘पूर्ण स्वास्थ्य वीमित’ बनाउने, ब्लड बैंकको स्थापना र सञ्चालन गर्ने, विद्यालय तहदेखि योग कक्षा सञ्चालन गर्ने तथा मनोसामाजिक विमर्सकर्ताको व्यवस्था गर्ने लगायतका योजना कार्यान्वयनमा ल्याउने कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close