परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल स्वदेश फिर्ता

परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुभएको छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ जानुभएको उहाँले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्तासमेत गर्नुभएको थिया ।
स्वदेश फर्कने क्रममा आज मन्त्री पौड्याले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै भ्रमणका दौरान श्रीलङ्काको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइडलाइन भेटवार्ता भएको जानकारी गराउनुभयो । उहाँले त्यहाँका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियोृ । भेटमा दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “हामीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्यका लागि आग्रह गर्‍यौँ ।”
यसअघि मन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो । उहाँले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । सबै भेटमा उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा आफूले स्पष्ट कुरा राखेको बताउनुभयो ।
“सार्कका विभिन्न संयन्त्र छन्, हाल राज्यरसरकार प्रमुखको तहमा नबसी अन्य तलका संयन्त्रबाट सार्कलाई पुनः चलायमान गर्दै लैजाने कि भन्नेलगायत विभिन्न विकल्पका बारेमा सकारात्मक छलफल भएको छ । यद्यपि यसमा अझै गृहकार्य गर्न बाँकी छ” मन्त्री पौड्यालले भन्नुभयो “सार्कका गतिविधिलाई प्रभावकारी र पुनः चलायमान बनाउन हाल सार्क मुलुकका विदेश सचिवहरुको अनलाईन बैठक बस्ने भन्ने विषयमासमेत छलफल भएको छ ।”
श्रीलङ्काले उक्त समारोहमा दक्षिण एसियाका सबै परराष्ट्र मन्त्रीलगायत विशिष्ट पाहुनालाई आमन्त्रण गरेको थियो । श्रीलङ्काले जलवायु परिवर्तनसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने प्रयास गरिरहेको जानकारी गराउँदै मन्त्री पौड्यालले नेपालले पनि त्यसमा सहकार्य गर्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले दक्षिण एसियाली मुलुकहरु जलवायु परिवर्तनको जोखिममा रहेको सन्दर्भमा आगामी जलवायु परिवर्तनसम्बन्धी कोप–२८ अन्तर्राष्ट्रिय सम्मेलन यस क्षेत्रको एउटै आवाज बनाउनका लागि अनौपचारिक नेटवर्क स्थापना गर्न सबैसँग कुरा गरेको बताउनुभयो ।
यसैगरी बङ्गलादेशसँग ऊर्जा व्यापार बारेमा कुरा भएको, माल्दिभ्ससँग त्यहाँ नेपाली चिकित्सक र नर्सको ठूलो माग रहेको अवस्थामा सम्झौता गरेर प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल भएको मन्त्री पौड्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close