Murti

मलेसियामा ५ जना नेपाली अलपत्र, ‘कम्पनीले क्लिनरकाे काम भनेर पठायाे, अहिले जङ्गलकाे काममा लगायाे’

रुकुम पश्चिम – रुकुम पश्चिमका चार जनासहित पाँच नेपाली मलेसियामा अलपत्र परेका छन् । वैदेशिक रोजगारीका लागि गएको कात्तिकमा मलेसिया पुगेका उनीहरू अलपत्र परेका हुन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली र टीकाराम भण्डारी, त्यही नगरपालिकाको वडा नम्बर ११ का टेकबहादुर केसी र सुनिल शाह, सुनसरीको बराहक्षेत्र नगरपालिका ९ का सन्देश राई अलपत्र परेका हुन् ।

मलेसियामा आफूहरू अलपत्र अवस्थामा रहेको बताउँदै इन्द्रबहादुर ओलीले उद्धारका लागि अपिल गर्नुभएको छ । उहाँले पाँचै जनालाई कम्पनीले एक हप्तादेखि खानासमेत नदिएको बताउनुभयो ।

नेपालबाट पठाउने कम्पनीले क्लिनरको काममा भन्दै आफूहरूलाई पठाएको भन्दै ओलीले मलेसियामा भने आफूहरूलाई जङ्गलको काममा लगाएको बताउनुभयो । असाध्यै अप्ठ्यारो अवस्थाको काममा लगाएपछि आफूहरू काम गर्न नसक्ने अवस्थामा पुगेको उहाँले जनाउनुभयो । आफूलाई नेपालको एजेन्ट र कम्पनीले झुक्याएर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको कुरा मलेसिया पुगेर मात्र थाहा भएको ओलीको भनाइ छ ।

‘अर्कै काम दिनपर्यो भन्दा कम्पनीले हामीलाई निकालिदियो । के खाने, कसरी बाँच्ने हामीलाई समस्या भयो’, मलेसियाबाट सम्पर्कमा आउनुभएका ओलीले गुहार माग्नुभयो, ‘हामीलाई कि काम गर्ने कि घर पुग्ने वातावरण मिलाइ दिनुपर्यो ।’

ईलाईट ह्युमन रिसोर्स कम्पनीले ग्लोबल ईन्टरनेशनल म्यानपावरमार्फत मलेसियाको नेगिरी सिम्बिलिन भन्ने ठाउँमा रहेको पिआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा उनीहरूलाई पठाएको थियो । म्यानपावर कम्पनीका एजेन्ट रुकुमको चौरजहारी नगरपालिका ३ का यज्ञबहादुर बटालामार्फत पाँच जना युवा त्यहाँ पुगेका थिए । आफूहरूले प्रतिव्यक्ति दुई लाख ६० हजार रुपैयाँ तिरेर त्यहाँ पुगेको जनाएका छन् ।

यस विषयमा ईलाईट ह्युमन रिसोर्स कम्पनीका प्रमुख झविन्द्र पराजुलीसँग कुरा गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । म्यानपावर कम्पनीका एजेन्ट बटालाले भने कम्पनीले सबै कुरा स्पष्ट पारेरै पठाएको प्रतिक्रिया दिनुभयो । ‘उता पुगेर मेडिकल जाँच गरेर काम सुरु गरेपछि समस्या आएको बुझियो’, बटालाले भन्नुभयो, ‘मैलै समस्या समाधानका लागि बारम्बार म्यानपावरसँग कुरा गरिरहेको छु ।’

मलेसिया पुगेका कामदारले भने आफन्तै पर्ने एजेन्टमार्फत आएको तर अहिले बेवास्ता गरेको गुनासो गरेका छन् । एजेन्ट र म्यानपावर कम्पनी दुवैले आफूहरूको फोन, म्यासेजको वास्ता नगरेको उनीहरूको भनाइ छ ।

उज्यालाे अनलाइनबाट

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close