यस्तो छ कांग्रेसको वीरेन्द्रनगर घोषणापत्र

नेपाली कांग्रेसले वीरेन्द्रनगर घोषणापत्र जारी गरेको छ। स्थानीय तह निर्वाचन २०७९ का लागि नेपाली कांग्रेसले वीरेन्द्रनगर घोषणापत्र जारी गरेको हो। घोषणापत्रमा घरदैलोमै स्वास्थ्य सेवादेखि नगर यातायात सञ्चालनको प्रतिबद्धता गरिएको छ।

असल शासन र जवाफदेहितातर्फ प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै अधिकतम सेवाहरू वडा तहबाट प्रवाह गर्ने, हरेक महिनाको ७ गते नगर कार्यपालिकाको अनिवार्य बैठक बस्ने, बैठकको जानकारी आम नागरिकसम्म पुर्‍याउने, आयोजना तथा कार्यक्रमहरूको सामाजिक परीक्षण अनिवार्य गर्ने, नागरिकबाट प्राप्त गुनासो अभिलेखीकरण गर्ने र कारबाहीको लागि छुट्टै संयन्त्र निर्माण गर्ने, जनप्रतिनिधि र नागरिक सम्मिलित अनुगमन संयन्त्र निर्माण गर्ने प्रतिबद्धता गरिएको छ।

असल शासन र जवाफदेहीतातर्फ नै अपांगता भएको, फरक क्षमता भएका, ज्येष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी, दीर्घरोगी मानिसका लागि घरदैलोमै सेवा उपलब्ध गराउने भएको छ।

शिक्षा, युवा तथा खेलकुदतर्फ सार्वजनिक विद्यालयमा पढाइको गुणस्तरमा सुधार गर्दै भौतिक पूर्वाधार सम्पन्न बनाउने, विद्यालयमा निर्माण हुने संरचना अपांगतामैत्री र लैंगिकमैत्री बनाउने, प्रत्येक विद्यालयमा विद्यार्थीले सिकेका कुराहरूलाई आफ्ना अभिभावक र आम नगरवासीसम्म पुर्‍याउनका लागि ‘सिकाइ मेला’ सञ्चालन गर्ने, विद्यार्थीहरूको ज्ञान, सीप र उत्प्रेरणाका लागि विभिन्न विधाका विज्ञहरूलाई ‘अतिथि शिक्षक’का रूपमा आमन्त्रण गर्ने प्रतिबद्धता जनाइएको छ।

विभिन्न पेशा र व्यवसायमा संलग्न स्थानीय र राष्ट्रिय व्यक्तित्वहरूलाई विद्यार्थीसँग जोड्नका लागि ‘विद्यालयमा एक दिन’ कार्यक्रम सञ्चालन गर्ने, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिँदै ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यान्वयन गर्ने, प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था, जनप्रतिनिधि, स्थानीय र अभिभावक रहेको विद्यालय सहयोगी समूह गठन गर्ने प्रतिबद्धता पनि गरिएको छ।

स्वास्थ्यतर्फ स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती र घरका गर्भवतीका लागि घरमै टेलिमेडिसिन सेवा उपलब्ध, विकट वडाका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था, प्रत्येक वडामा मासिक रूपमा स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य संस्थासम्म आउन नसक्नेहरूका लागि निजी क्षेत्रसँगको सहकार्यमा होम केयरको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ।

यस्तै, नगरपालिकाका सबै परिवारको स्वास्थ्य बीमा गर्ने, सुत्केरी महिलालाई एक हजार रुपैयाँ सुत्केरी सहायक भत्ताका रूपमा उपलब्ध गराउने, नगर अस्पतालमार्फत् जेष्ठ नागरिकहरूको निस्शुल्क उपचार गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई आफ्नो सेवा क्षेत्रभित्रका नागरिकहरूलाई मौसमअनुसार लाग्ने स्वास्थ्य शिक्षा महिनामा एक पटक दिने, निस्शुल्क शव वाहनको व्यवस्था गर्ने प्रतिबद्धता पनि नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा गरेको छ।

कृषितर्फ एक टोल, एक कृषि उपज संकलन केन्द्र निर्माण, कृषि उपजको विक्री वितरणका लागि हाट बजारको व्यवस्था, पालिकाभित्रका किसानका गाई–भैंसी दर्ता गर्ने, गाई–भैंसी व्याएपछि चारास्वरूप एक हजार रुपैयाँ उपलब्ध गराउने, वीरेन्द्रनगरलाई मासुमा आत्मनिर्भर बनउने, कृषकको सूचीकरण र वर्गीकरण गर्ने, किसानको खेतबारीमै प्राविधिक सेवा उपलब्ध गराउने, बाँझो जग्गा भाडामा लिएर युवाहरूलाई सामूहिक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्ने प्रतिबद्धता जनाइएको छ।

एक वडा, एक उद्यमशील केन्द्रको अवधारणा कार्यान्वयन, वैदेशिक रोजगारमा संलग्न वा फर्केका व्यक्तिहरूलाई विदेशमा सिकेको सीप अनुसारको उद्यम सञ्चालन गर्न प्रोत्साहन गर्ने, रोजगार बैंकको स्थापना, स्थानीय रोजगारी सृजना गर्ने उद्योगहरूलाई निश्चित प्रतिशत स्थानीय कर छुटको व्यवस्था गर्ने, मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ।

वीरेन्द्रनगर–१४ लाई नयाँ पर्यटकीय गन्तव्य बनाउन तथा उपत्यकामा भूमिगत पानीको स्रोत बढाउनका लागि सोतखोलामा मानव निर्मित ताल निर्माण गर्ने, मुख्य पर्यटकीय क्षेत्रहरूमध्ये बुलबुलेदेखि कांक्रेबिहार जोड्ने ‘सर्किट’ निर्माण गर्ने, बुलबुले, कांक्रेबिहार, देउतीबज्यै, सहिदपार्क, पाताल दरबारलगायतका पर्यटकीय एवम् विभिन्न वडामा रहेका धार्मिक पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्दै गोठीकाँडा, अमृताडाँडा, शिद्धपाइला, भ्यूचुला, रानीघाट, रातानाङ्लालगायतका पर्यटकीय गतिविधि धेरै हुने क्षेत्रमा पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता पर्यटनतर्फ गरिएको छ।

पर्यटन सुचना केन्द्रको स्थापना तथा सञ्चालन, पर्यटकीय क्षेत्रहरूको गाइड बुक प्रकाशन, भइरहेका होमस्टेहरूको प्रभावकारी व्यवस्थापन गर्दै सम्भाव्य स्थानमा होम–स्टे स्थापना र सञ्चालनको व्यवस्था मिलाउने, होम–स्टे सञ्चालकहरूलाई अंग्रेजी भाषा तालिम, सरसफाइ र सुरक्षासम्बन्धी तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि कांग्रेसको वीरेन्द्रनगर घोषणापत्रमा गरिएको छ।

वीरेन्द्रनगर उपत्यकामा नगर बस सञ्चालन गर्ने, सुरक्षाका लागि सार्वजनिक यातायातमा सिसी क्यामरा जडान अनिवार्य गर्ने, अटो भिलेजको निर्माण गर्ने, दीगो सहरी यातायात नीति कार्यान्वयन गर्ने, दीगो सहरी व्यवस्थापनको लागि सडकहरूलाई अपांगमैत्री र वातावरणमैत्री बनाउने, उपत्यकाभित्रका सडकहरूमा साइकल लेनको व्यवस्था गर्ने प्रतिबद्धता कांग्रेसले गरेको छ।

उत्तरी जलाधारको संरक्षणमा विशेष ध्यान दिने, खाली जमिनमा उच्च मूल्यका वृक्षरोपाण गर्ने, गुराँस संरक्षण नीति ल्याउने र कार्यान्वयन गर्ने, ‘मेरो घर, हरित सहर’ अन्तर्गत सहरी सौन्दर्यलाई ध्यानमा राखेर आवश्यक नीति तथा कार्यक्रम बनाउने, ‘एक घरस् दुई बिरूवा’ कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्ने, बाढी, पहिरो, डुबान, बन डढेलो जस्ता विपत्तिहरूका बारेमा आम नागरिकहरूलाई तत्काल सूचना प्रणालीको व्यवस्था मिलाउने, विपद्का सूचना प्रवाहका लागि प्रत्येक वडामा दूत राख्ने नेपाली कांग्रेसको वीरेन्द्रनगर घोषणापत्रमा उल्लेख गरिएको छ।

वीरेन्द्रनगरको चक्रपथ निर्माणलाई पूर्णता दिने, वीरेन्द्रनगरको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरू गरिएको भेरी लिफ्टिङ खानेपानी आयोजनालाई समयमै सम्पन्न गर्ने, दीर्घकालीन महत्वका ठूला योजनाहरू सञ्चालनमा ल्याउने, नगरपालिकाका गाउँ–बस्तीहरूमा विद्युतीकरण गर्ने प्रतिबद्धता कांग्रेसले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close