कोरोनाले नियमित खोप कार्यक्रम प्रभावित, खेर गयाे लाखौं डोज खोप

कोरोना संक्रमणको कारण नियमित खोप कार्यक्रम प्रभावित भएको छ । शिशु जन्मिएदेखि १५ महिनासम्म लगाउनुपर्ने विभिन्न रोगविरुद्धको खोपको धेरै मात्रा खेर गएको महालेखा परीक्षकको ५८औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बालबालिकामा नियमित खोप कार्यक्रम अन्तरगत लगाइने खोपको ४८ लाख ७७ हजार डोज खेर गएको पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ६४ दशमलव ५ प्रतिशत बालबालिकाले मात्र तोकिएको सबै खोप प्राप्त गरेको भन्दै ठूलो संख्यामा खोप खेर गएको प्रतिवेदनले देखाएको छ । क्षयरोगविरुद्ध लगाइने बीसीजी खोप सबैभन्दा धेरै ७८ प्रतिशत खेर गएको छ ।

शिशु जन्मने बित्तिकै लगाइने बीसीजी खोप १८ लाख ९१ हजार डोज खेर गएको प्रतिवेदनले देखाएको छ । बीसीजी खोप ५ लाख ३३ हजार शिशुलाई मात्र लगाइएको छ । यस्तै ६ हप्तामा लगाइने डीपीटी खोप २२ दशमलव ४ प्रतिशत खेर गएको छ । भ्यागुते तथा लहरे खोकीबाट बचाउने खोप १५ लाख २२ हजार बालबालिकाले लगाएका छन् भने ४ लाख ४१ हजार डोज खोप खेरा गएको छ ।

शिशुलाई पोलियो रोगबाट बचाउने २३ दशमलव १ प्रतिशत खोप खेर गएको छ । शिशु ९ र १५ महिनाको भए पश्चात लगाइने दादुरा र रुवेलाको खोप ९ लाख २० हजार बालबालिकाले मात्र लगाएका छन् । ८ लाख ५ हजार डोज खोप खेर गएको प्रतिवेदनले देखाएको छ ।

जापनिज इन्सेफलाइटिस रोगविरुद्ध १२ महिनामा लगाइने खोप करिव ४७ प्रतिशत खेर गएको छ । ४ लाख ७२ हजार बालबालिकाले खोप प्राप्त गरेका छन् भने ४ लाख १७ हजार डोज खोप यसै खेर गएको छ ।

यस्तै ७ वर्ष उमेरभित्र लगाइसक्नु पर्ने टिटानसको ५४ प्रतिशत खोप पनि खेर गएको प्रतिवेदनमा उल्लेख छ । धनुष्टङ्कार विरुद्धको खोप ७ लाख ४३ हजारलाई मात्र लगाइएको छ । गत वर्षसम्म ७९ प्रतिशत बालबालिका मात्र दादुरा रोगको दायरामा आएका छन् भने डीपीडी हेप खोप तेस्रो करिव ७७ दशमलव ९ प्रतिशत बालबालिकाले मात्र लगाएका छन् ।

महालेखाले खोप कार्यक्रम मितव्ययी र कुशल रूपमा सञ्चालन नभएका कारण वैदेशिक मुद्रामा खरिद भएको खोपको मात्रा बढी प्रयोविहीन भएको जनाएको छ । खोपको प्याकिङ खोलिसकेपछि निश्चित अवधिमा उपभोग गरिसक्नुपर्ने हुँदा सो अनुसार खोपको उपयोग हुन नसकेर खोप खेर गएको महालेखाले औँल्याएको छ ।

खोप लिने तालिकामा उचित व्यवस्थामा मिलाइ खेर नजाने अवस्था बनाउन प्रतिवेदनले सुझाएको छ । बालबालिकाको जीवन रक्षा गर्ने खोप लगाउनको संख्या कम हुँदा अपाङ्ता हुने तथा मृत्यु नै हुने सम्भावना उच्च रहन्छ । यसतर्फसबैको ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close