लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई बुधबार बिहान सिंहदरबारस्थि कार्यालयमा बोलाएर छलफल गरेका हुन् ।

लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्रीले उनीहरूका प्रतिनिधिलाई सिंहदरबार बोलाएर छलफल गरेका हुन् ।

छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहल ठिक भएको भन्दै समस्याको छिटो समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

छलफलमा प्रधानमन्त्रीले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लोसमय यो क्षेत्र संकटग्रस्त हुँदै गएको बताउँदै सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताए ।

प्रधानमन्त्री दाहालले भनेका थिए, ‘विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो । तर, पछिल्लोसमय यो ठूलो समस्यामा फस्दै गएको छ ।’ दाहालले सहकारी र लघुवित्तमा कतिपय परिस्थितिजन्य अप्ठ्याराहरू र कतिपय सञ्चालकहरूको बेइमानी जिम्मेवार रहेको बताउँदै सोहीबमोजिम समस्या समाधानमा पुगिने बताए ।

लघुवित्त र सहकारी क्षेत्रको समस्या चक्रव्यूहका रूपमा विकसित जानसक्नेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक समस्या समाधानको पहल गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र नेपाल राष्ट्रबैंकसँग कुरा गरेर समस्या समाधान गरिने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close