
पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागलाई क्रियाशील बनाउन थालेकाे खबर अन्नपुर्ण दैनिकमा खगेन्द्र भण्डारीले खबर लेखेका छन्। असन्तुष्ट पक्षको विरोधका बाबजुद विभागलाई पूर्णता दिने काम सुरु भएको छ।
१४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि कुनै पनि नियुक्ति वा मनोनयन गर्न नपाइने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग छ। चार वर्षे कार्यकाल सकिन दुई दिनअघि मात्रै देउवाले ४८ मध्ये २० विभाग गठन गरेका थिए।
त्यतिबेला विभागको संयोजक मात्रै तोकेका उनले अहिले विभागलाई पूर्णता दिन सदस्य मनोनयनको कामलाई तीब्रता दिएका हुन्। देउवाले सोमबार केन्द्रीय महिला विभागमा सचिवसहित ३८ सदस्य मनोनित गरेका छन्। उनले सचिवमा पार्टीको महासमिति सदस्य एवं नेपाल तरुण दल नेतृ लक्ष्मी खतिवडालाई मनोनित गरेका छन्। विभाग संयोजकमा भने ईश्वरी न्यौपानेलाई अघिल्लो वर्ष १९ फागुनमा मनोनयन गरेका थिए। पछिल्लो एक सातामा मात्रै देउवाले तरुण विभाग र खेलकुद विभागमा पनि दुई दर्जन बढी सदस्य मनोनित गरेका छन्।
महाधिवेशनको मिति तोकिसकेपछि सभापति देउवाले विभाग गठन, विभिन्न समिति र विभागलाई पूर्णता दिने काम गरेको भन्दै बिहीबार पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए। उनीहरूले ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत सभापति देउवाले विभाग गठन गरेको आरोप लगाउँदै आएका छन्। पौडेलले महाधिवेशन प्रभावित पार्ने गरी सभापतिले विभागमा सदस्य मनोनित गरेको आरोप लगाए। ‘यो तदर्थ समिति भइसक्यो। सभापतिज्यूलाई अब कार्यकारी अधिकार प्रयोग गर्ने अधिकार विधानले दिएको छैन। उहाँले जथाभावी गर्न पाउनुहुन्न’, पौडेलले अन्नपूर्णसँग भने। तर देउवाले भने विभागमा असन्तुष्ट समूहका नेताकार्यकर्तालाई पनि जिम्मेवारी दिएर उल्टै दबाब दिएका छन्।
कांग्रेस विधानमा एउटा विभागमा संयोजकसहित ५१ सदस्य रहने व्यवस्था छ। सबै विभाग गठन भए करिब २५ सय नेताकार्यकर्ताले भूमिका पाउँछन् तर पार्टीभित्र भागबण्डा नमिल्दा चार वर्षसम्म विभाग गठन हुन सकेनन्। देउवाले फागुन दोस्रो साता २० विभाग गठन गरे पनि तिनहरूले पूर्णता पाएका छैनन्। २० वटै विभागलाई चाँडै पूर्णता दिने गरी नाम संकलनको कार्य भइरहेको संस्थापननिकट एक केन्द्रीय पदाधिकारीले बताए।