बैशाख २५ गतेसम्म थपियो लकडाउन, सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने

काठमाडौं, बैशाख १४ । सरकारले बैशाख २५ गतेसम्मका लागि लकडाउन अर्थात् बन्दाबन्दीको समय थप्ने निर्णय गरेको छ । १५ गते सोमबार सकिने बन्दाबन्दीको समयलाई अरु दश दिन लम्ब्याउने निर्णय गरिएको हो ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको भन्दै एक साता लम्ब्याउन सिफारिस गरे पनि सरकारले भने दश दिन थपेको हो ।

सरकारले ११ चैतबाट लकडाउन लागू गरेकोमा यो पाँचौ पटक समय थपिएको हो । पछिल्लो पटक समय थप्दा बैशाख १५ सम्मका लागि भनिएको थियो ।

शुरुमा पहिलो पटक चैत ११ देखि बन्दाबन्दी घोषणा गर्दा चैत १८ गतेसम्मका लागि भनिएको थियो । दोस्रो चरणमा चैत २५ सम्म, तेस्रो चरणमा वैशाख ३ सम्म र चौथो चरणमा वैशाख १५ सम्मका लागि लम्ब्याइएको थियो ।

यसैगरी सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।

सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close