
एनएमबी बैंक कर्णाली प्रदेश कार्यालयले प्रदेशका दुइटा जिल्लामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
दैलेख र सुर्खेतका तीनरतीन वटा स्थानीय तहमा सप्ताहव्यापी रूपमा वित्तीय साक्षरता अभिमुखीकरण गरिएको हो।वित्तीय सारक्षता कार्यक्रममा बैंकले दिने सेवासुविधा तथा बैंकिङ प्रणालीका बारेमा स्थानीयहरूलाई जानकारी गराइएको थियो।
सुर्खेतका पञ्चपुरी नगरपालिका, लेकवेंशी नगरपालिका, बराहताल गाउँपालिका, दैलेखका नारायण नगरपालिका, गुराँस गाउँपालिका र नौमुले गाउँपालिकामा गरिएको वित्तीय साक्षरता कार्यक्रमबाट ६५० जना सहभागीहरूबीच जानकारी आदानप्रदान गरिएको कर्णाली प्रदेश एरिया मेनेजर मित्रराज प्याकुरलेले बताउनु भयो ।
आम्दानी, खर्च, बचत, ऋण, सापटी तथा बजेटको आधारभूत ज्ञान, पैसाको सदुपयोग र सही तरिकाले व्यवस्थापन लगायतका विषयमा स्थानीयहरूलाई जानकारी प्रदान गरिएको उहाँले बताउनु भयो ।आर्थिक संकट पूर्वानुमान गरेर अनावश्यक ऋणबाट जोगिने, सीमित आयबाट पनि दैनिक खर्च, भैपरी आउने खर्च टार्ने, युवाहरूलाई बचत गर्ने बानी बसाल्ने जस्ता विषयमा पनि वित्तीय साक्षरता कार्यक्रममा सिकाइएको प्याकुरेलले बताउनु भयो ।
यस्तै, एटिएम मेसिन, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम कार्डका विषयमा पनि जानकारी गराइएको थियो।
एनएमबीले गरेको वित्तीय साक्षरता कार्यक्रममा सहभागीमध्ये ७५ प्रतिशत महिला रहेको प्याकुरेलले जानकारी दिनु भएको छ ।प्याकुरेलसहित एनएमबी बैंकका सुर्खेत शाखाका ऋण विभाग प्रमुख निर्मल गौली, व्यवसाय विकास अधिकृत खगेन्द्र पाण्डेले वित्तीय साक्षरता कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिनु भएको थियो ।