
काठमाडौं — अभिनेता राजेश हमालको आठ वर्षपछि पुनरागमन भएको बहुप्रतिक्षित फिल्म ‘नरसिंहा: अवतार’ आगामी जेठ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले उक्त मितिमा फिल्म प्रदर्शन हुने जानकारी दिएको हो।
निर्देशक दिवाकर भट्टराईद्वारा निर्देशित यस फिल्ममा बदला र सामाजिक कथावस्तु समेटिएको छ। विशेषतः यो फिल्मले दुई लोकप्रिय अभिनेता राजेश हमाल र सरोज खनाललाई ३१ वर्षपछि पुनः एउटै पर्दामा देखाउने भएकोले दर्शकहरूमा अतिरिक्त उत्साह देखिएको छ।
फिल्ममा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी र प्रकाश कुँवरको समेत अभिनय रहेको छ।
क्रिएटिभ सिने आर्टको ब्यानरमा निर्माण भएको फिल्म नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र दीपक ढकाल शर्माले संयुक्त रूपमा निर्माण गरेका हुन्।





