कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुल्यो

सुर्खेत । लामो प्रतिक्षापछि अन्ततः कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । २०४५ सालमा सुर्खेतमा विस्तार गरिएको ३३ केभी प्रशारण लाइनले हालको माग धान्न नसकेपछि १३२ केभी प्रशारण लाइन निर्माण अघि बढाइएको हो । तर प्रशारण लाइनको विच खण्डमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने भएकाले हाइटेन्सन लाइन निर्माणका लागि रुख कटान अनुमति नहुँदा प्रभावित बनेको थियो ।

सोमबार संघ सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि निर्माणको बाटो खुलेको हो । मन्त्रीपरिषद्को निर्णयपछि अब नेपाल विद्युत प्राधिकरण र वन विभागसँग रुख कटानका लागि सम्झौता हुनेछ । सम्झौतापछि निकुञ्ज क्षेत्रका रुखहरु निकुञ्ज कार्यालय, राष्ट्रिय वनमा पर्ने रुख सम्वन्धित जिल्ला वन कार्यालय तथा सामुदायिक वनका रुख भने सामुदायिक वनले नै कटान गर्नेछ । तर यो सबै प्रक्रिया सक्न कम्तिमा कार्तिकसम्म लाग्ने चौधरी बताउँछन् ।

लाइन विस्तारको क्रममा कति रुख कटान गर्ने भन्ने यसअघि नै विवरण तयार रहेकाले सम्झौता लागत्तै रुख कटानको काम शुरु हुने कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण आयोजना प्रमुख रवि चौधरीले जानकारी दिनु भयो । उहाँकाअनुसार ५२ किलोमिटर प्रशारण लाइनमा पर्ने १३ हजार ५६ रुख काट्नु पर्नेछ । आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकबेँसी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रूख कटान गरिने आयोजना प्रमुख चौधरीले बताउनु भयो ।

प्रसारण लाइनको ७०.५४५ भाग वनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाजो जमिन, तथा ११.०६५ अन्य भागले ओगटेको छ । विद्युत प्रसारण कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन, तथा सरकारी वन क्षेत्रका गरेर जग्गाको क्षेत्रफल कुल दुई सय २५ वर्ग मिटर हुनेछ ।

आयोजना कार्यान्वयन गर्दा कूल ९८।०५७९ हेक्टर जग्गा टावर निर्माण, सव–स्टेशन निर्माण तथा क्षेत्राधिकारको लागि आवश्यक पर्ने आयोजनाले जनाएको छ । जसमध्ये ३।७२४९ हेक्टर स्थायी रूपमा सव–स्टेशन निर्माणको लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिने उल्लेख छ ।

आयोजना बाँकेको कोहलपुर सव–स्टेशनबाट शुरु भएर सुर्खेतको धुलियाविट सव–स्टेशनमा पुगेर टुंगिनेछ । सुर्खेतमा रहेन सव–स्टेशनमा जग्गाको क्षेत्रफल करिव चार हेक्टर छ । डवल सर्किट रहेन आयोजनाका एंगल टावरहरु २६ ओटासहित कुल १४५ टावर रहनेछन् ।

कोहलपुर–सुर्खेत १३२ केभि विद्युत् प्रसारण लाइनको कुल बजेट एक अर्ब ८० करोडमध्य भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्कामार्फत ७० करोडमा जिम्मा लिएको हो । निर्माण व्यवसायीले सो रकमबाट टावर निर्माण र तार तान्ने कार्यमा मात्रै खर्च गर्नेछ भने मुआव्जाको रकम भने आयोजनाले छुट्टै व्यहोर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close