सधै सबै पुरुष अपराधि हुदैन

प्रस्तुतिः शर्मिला विसी

पछिल्लो समय महिला माथी एकपछी अर्को गर्दै क्रमश हिंसा, दुव्र्यवहार र अमानविय तरिकाका अपराधहरु बढिरहेको छ । जसमध्ये क्रमशः तेजाब प्रहार, जबरजस्ति करणी, गालीबेईजती, विभिन्न खालका आरोप प्रत्यारोप, घरेलु हिंसा, यौन व्यवसाय मा संलग्नता, सामाजीक संजालमा बेईजती, हत्या, आत्महत्या गर्नलाई बाध्य पारीएका आदि प्रकृतीका घटनाहरु पर्छन् । यि सब समाचार सुन्ने र हेर्ने मात्र हैन की हाम्रो समाजको परिचय अवस्था र बौद्धिकताको परिधिलाई मापन गर्दै विश्वजगतमा हामीलाई चिनाईरहेको छ । दिनप्रतिदिन हाम्रा सन्तानहरु नकारात्मक टिकाटिप्पणी र क्रियाकलापमा रमाईरहेको अवस्थामा उनीहरुमा नै अध्ययन, व्यवहार र सकारात्मक सोचमा कमी आईरहेको छ । चाडै चर्चित हुने सोचले सामाजीक संजाललाई नै छिटो र सजिलो माध्यम बनाएर आफ्ना र अर्काको नितान्त व्यक्तिगत बिषयलाई छरपष्ट बनाउने । पछि सोही कुरा सम्हाल्न नसकेर सच्याउन खोज्दा खोज्दै नैतीक रुपमा पतन भएर पनि समाजमा गर्भ गर्दै हिड्ने महान आत्माहरु जती पनि सकिएन । माथी उल्लेखित सबै कुराहरु अबको पुस्ताका लागी दिनप्रतिदिन खतराको रुपमा आईरहेको छ । नत आफ्ना सन्तानलाई नै सामाजीक संजालदेखि टाढा राख्न सक्छौ नत हामी आफै नै टाढा रहन । हामी मौन छौ , टुलुटुलु हेरीबसेका छौ अपराधिक घटनाहरु र डराईरहेका छौ आफैभित्र । अनी सोच्दै कामना गरीरहन्छौ मेरो सन्तानले यस्ता घटना नघटाओस् भनेर । कतै समाजमा प्रष्फुटित भैरहेको यो खालको सोच, संस्कृती, अनुशासन, शिक्षा र व्यवहार जुन मर्यादित र ग्रहणयोग्य नभएर सस्तो त भैरहेको छैन ?
अहिलेको अवस्थामा कोरोना भाईरस भन्दा पनि भयानक भएर बसेको पितृसतात्मक सोचको भाइरस जुन मेरो देशका पुरुषमा मात्र हैन महिलामा पनि प्रशस्तै देख्न, सुन्न र भोग्न पाईन्छ । कुनैबेला मुसाले भित्रभित्रै कपडा काटेझै गरेर एकाध सुनिने र घटीरहने घटना । महिला माथीको दमन शोषण र अत्याचार आज सलह किराले बाली नाश गरेझै चारैतिर छरपष्ट देखिएको छ । चार बर्षकी बालीका बलात्कार देखि एशिड आक्रमण सम्म । घर भित्र देखि घर बाहीरसम्म, आफन्तदेखि अपरिचित सम्म, बृद्ध युवा देखि बालबालीकासम्म कोही पनि अछुतो छैनन् अपराध भोग्न अनी अपराध गर्न । “एकातिर सोह« बर्षकी बालीका यौन व्यवसायको कारोबारमा संलग्न छन् । अर्कोतीर सत्र बर्षकी बालीका हदा देखी लागुऔषध र चोरीको कारोबारमा बर्षौ देखि लिडर भएर युवा भै सक्दा सम्म पनि अझ ठुलो समुह निमार्ण गर्दैछिन् । बारम्बार प्रहरीकोमा आईरहदा उनीहरु कसैलाई आफुले आफैलाई झन बलियो महशुस गरीरहेका छन् । यता अभिभावकहरुलाई जब सन्तानको नाम जोडीएर घटना बाहीर आउछ तब लाचार भएर बस्नुपरेको अवस्था प्रत्येक ठुला साना बस्तिहरुमा सजिलै देख्न र सुन्न पाईन्छ । विविध खालका अपराधिक घटनाहरु वालविवाह मुक्त जिल्ला, गाउ र समुदायको कल्पना गर्दै छ्यापछ्याप्ती कार्यक्रम पनि नगरीएका हैनन् । तर माया प्रेम भनेर वालवालीका भागेको निवेदन प्र्रहरीकोमा आउने संख्यामा कमी हुनु कता हो कता दिनानुदिन बढिरहेको अवस्था छ । लकडाउनको अवस्थामा आत्महत्या र जबरजस्ति करणीको घटनामा त झन अत्यधिक मात्रामा बृद्धी भएर आयो । त्यति मात्र कहा होर यसरी मर्दा सहज हुन्छ भन्ने सिकाई पनि सिकीरहेछन् हाम्रा सन्तानले । फेशबुकमा छरपष्ट भाईरल भएको आत्महत्या भिडियोहरु हेरेर ।
सिन्दुर चुरा पोते र गहनामा सजिएकी नारी जती सुन्दर देखिन्छिन त्यती पाईन्ट र स्कर्ट मा राम्री लाग्दैन मलाई भन्दै गफ लगाउने मानीसहरुको समुह होस् । या छोरा त हुनैपर्छ नभए त बंश सिद्धिहाल्यो नी भनेर छ वटा छोरी जन्मिदा सम्म पनि छोराको आश गरेर श्रीमतीलाई पटक पटक गर्भपतन गराउने छिमेकी । गाउमा छोरी माथी छाउपडी प्रथा बिभेद भो हामी त छाउघर मा बस्दैनौ भनेर आफु शहरिया बन्ने हाम्रा नेपाली समाजका मानीसहरु । जो जे भएपनी महीनावारी हुदा त भान्सामा, पुजा कोठामा मात्र जादैनौ । बाहिर अरु सबै छुन मिलीहाल्छ नी भन्दै फुस्सा गफ हाकिरहने अनी हामी आधुनिक भएको झलक देखाउनेहरु जती पनि कहिल्यै सकिएन । स्वइच्छाले शारिरिक सम्बन्ध राखेर जबरजस्ति करणीको आरोप लगाउने देखि सहमतीमा राखेको सम्बन्ध पछिको गर्भ अस्विकार गर्नेहरुको पनि कमी देखिएन यहा । शारिरिक सम्बन्ध राख्न आतुर भएकाहरु भोली आउने परिणामलाई अन्दाज सम्म नगर्ने अहिलेको प्रचलनले फेरी पनि महिला र किशोरीलाई नै बढि मर्माहत बनाएको पाईन्छ । सोही गर्भ लुकाउन धेरै महिला र किशोरीहरुले बारम्बार गर्भपतन गर्ने । जन्मिएको बच्चा फ्याल्ने देखि हत्या तथा आत्महत्या सम्मको बाटो अपनाईरहेको यो परिस्थितीमा यस्ता उपाय पक्कै पनि सजिलो र सहि त हुदै हैन ।
बैदेशिक रोजगारमा गएका महिला वा पुरुषहरुले बिदेशबाट कमाएर पठाएको पैसा लाई नेपालमा बस्ने आफन्तले सहि सदुपयोग गर्न नसक्नु । गलत मान्छेको संगतले घरव्यवहार बिग्रेर, सम्पति नाश भए संगै सन्तान लथालिङ्ग भएको घटनाहरुले समाज कता गैरहेको छ भन्ने स्पष्ट देखाउछ । त्यसैले त दिनहु सम्बन्ध बिच्छेद र सडक बालबालीकाको संख्यामा पनि बृद्धि भैरहेको छ । माथी उल्लेखित सम्पुर्ण प्रकृतीका घटना मा दोष जती महिलालाई नै लगाईयो चाहे त्यो श्रीमान बिदेश गएको होस् । या नेपालमा बस्ने महिला होस् या आफै बैदेशिक रोजगारमा गएका महिला हुन् दुबै तिर बाट महिला नै चरित्रहिन अनी अस्तित्व विहिन । बैदेशिक रोजगारमा जाने महिला रहरले गएको हैन अनि नेपालमा बस्ने महिलाको पनि परपुरुषसंग सम्बन्ध आफै एक्लै भएको छैन, त्यसमा पनि यहि समाजको पृतीसतात्मक सोच भएको व्यक्ति सहभागी छ । बैदेशिक रोजगारमा गएको पुरुषले कमाएको सम्पति र घरव्यवहार बिगार्न यहा अर्को पृतीसतात्मक सोच व्यापार जस्तै गरी खोज्दै र दाउ छोप्दै हिडीरहन्छ । अनि आफ्नो पन्जामा पारे भनेर त्यहि मानीस कुरा गर्दै पनि हिडिरहेको छ भन्ने कुरा हामीले बिर्सिरहेका छौ । बैदेशिक रोजगारमा जाने महिलालाई खोजेर हिड्ने दलाल को पनि कमी नभएको समाजमा एउटै गल्तिका लागी पनि लैगिंक दृष्टिकोण बाट अवलोकन गर्ने । फरक सोच र फरक सजाय मापन गरेको देख्दा , महिलामाथी हेर्ने बोल्ने र गर्नेे व्यवहार ले फेरी पनि आधुनिक समाजलाई एकपटक सोच्नै पर्ने बनाएको छ । शक्ति संयन्त्रको बारेमा बेलाबखत आलोचना भएपनि विभिन्न कार्यालयमा आफ्नोे अर्काको, पहुचवाला र पहुच विहिनहरुलाई गरीने व्यवहार ले आम जनतालाई निरुत्साहीत बनाईरहेकोे छ । निर्मला हत्याकाण्ड पछि प्रहरी माथीको अविश्वासलाई विश्वासमा बदल्न अहिले पनि नसकिरहेको अवस्थामा त झन रन्जन कोईरालाको मुद्धा माथीको चित्त फैसलाले न्यायालयको कार्यम्पादनमा पनि आमजनताको असन्तुष्टिका आवाज संगै प्रश्न पनि सुनीरहेका थियौ ।
माथी प्रस्तुत सम्पुर्ण घटनामा सम्पुर्ण पुरुष दोषी छन् भन्ने मेरो आशय हैन । मैले माथी पनि भनेको छु , पितृसतात्मक सोच महिला पुरुष दुबै मा हुन सक्छ । त्यसैले त हामी समय समयमा महिलाको विपक्षमा किन महिला हुन्छ भनेर बहस पनि त गरीरहेका हुन्छौ । महिला मात्र हैन यहा यस्ता पुरुष पनि हुनुहुन्छ जो सधै महिलाको हक र अधिकारका लागी बोलीरहनुभएको पाईन्छ । यसरी सबैतिर हेर्दा भोग्दा र यहि परिवेशमा जिउदा यस्तो लाग्छ । कतै निति निमार्ण र कार्यान्वयनको तहमा वास्तविक समाजको अपराधिक मानशिकताको अध्ययनमा कमी त भैरहेको छैन ?
महिला प्रती हेर्ने सोच नै भेदभाव रहित, व्यवहार सम्मानजनक र यौनिकता भन्दा माथी उठेर गर्नुपर्ने संरक्षण नै अबको धर्म र संस्कार बनाईनुपर्छ । त्यसका लागी हामीले बाहीर महिला पुरुष बराबरी भन्ने भित्र ब्रत त बस्नै पर्छ , बिचरा छोरी भन्ने मानशिकतालाई पनि परिवर्तन गर्न जरुरी छ । हिंसामुक्त समाज र व्यवहारको आवश्यकतालाई मात्र कल्पनामा सिमित नराखि अब छोरीका लागी मात्र हैन बुहारीका लागी , आमाका लागी मात्र हैन सासुका लागी पनि भेदभाब आफैदेखि अन्त्य गर्नुपर्ने हुन्छ ।
छोरीलाई रातीमा बाहिर नजाउ, यसरी बोल, त्यसरी खाउ, तिमि अहिले छोरी छौ दिदिबहीनि, श्रीमती, नन्द, आमाजु , बुहारी, आमा, सासु र हजुरआमा विभिन्न सम्बन्धमा हुन्छौ । त्यो सब तिमिले धर्ति भएर स्वुकार गर्नुपर्छ । प्रत्येक भुमिकालाई इज्जत सम्झेर निभाउनु पर्छ भनेर सिकाईरहदा । छोरालाई पनि अरुको छोरीलाई सम्मान पुर्वक हेर, छोरी तिमिले सिठि बजाउन, तिम्रो नोकर भएर बस्न, तिम्रो यौन प्यास मेटाउन र बच्चा जन्माउनका लागी मात्र हैन । उनि तिम्रो जीवनको प्रत्येक प्रहरमा संगै हुन्छिन् , कहिले आमा कहिले श्रीमती कहिले दिदि बहिनि अनि कहिले छोरी र बुहारी त कहिले हजुरआमा यो सब रुप र सम्बन्धलाई तिमिले स सम्मान ग्रहण गर्नुपर्छ र सोही अनुरुप व्यवहार निभाउनुपर्छ ।
कुनै पनि घटना या परिबन्धलाई लैगिंकताको उपमा दिएर नजर अन्दाज गरिनुहुदैैन किनभने सधै महिला सहि या पुरुष गलत हुन्छ भन्ने पनि छैन । महिला गलत र पुरुष सहि भएको घटना पनि सुन्ने र देख्ने गरेका छौ । अर्को कुरा जबसम्म महिलालाई हेर्ने र सोच्ने तरिका अन्धविश्वासको आधारमा हुन्छ । तबसम्म महिला अधिकार र न्याय, कुरामा मात्र सिमित हुने भएकाले महिला सुरक्षित हुनका लागी प्रत्येक व्यक्ति र सोचमा पितृसत्तात्मक धारणा परिवर्तन आउन जरुरी छ । यो पनि हैन कि पितृसत्तात्मक सोचपछि संगै मातृसतात्मक सोच पैदा होस् । या महिलाका मुद्धामा महिला मात्र बोल्नुपर्छ । देशमा महिला पुरुष समान रहने सोच लाई नै अबलम्बन गर्दै महिला हिंसा अन्त्य गर्नका लागी पुरुष सहभागीता त झन हुनैपर्छ । महिलाका प्रत्येक मुद्धामा संगसंगै हिड्ने ,बोल्ने प्रत्येक पुरुषको चासो र खोज हुनुका साथै अब्बल पुरुष नेतृत्व पनि चाहिन्छ ।
फरक बर्ग, फरक जात, फरक भाषा, फरक लिंग, फरक धर्म सबै भित्रका व्यतिहरु स—सम्मानित बाच्न पाउने राज्यको संबिधानमा कानुनको व्यवस्था भैसकेको अवस्थाछ । अझै पनी सुन्न हेर्न र व्यक्त गर्नै नसकिने प्रकृतीका महिला माथीको चरम हिसां र हत्या जुन महिला भएकै कारणले भोगीरहनु परेको छ त्यो सबैका लागी चुनौती हो । प्रत्येक मान्छे व्यक्तिगत छ उसका आफ्ना कुरा र जीवनशैलीमा मात्र उ स्वयम्् को अधिकार र निर्णय छ । फरक क्षमता भावना र चाहनाका बाबजुत पनि सबैले कल्पना गरेको , चाहेको र सबैलाई सर्बमान्य सामाजिक सिमा भित्रको एउटा त्यस्तो डोरी छ । जसले हामिलाई एक आपसमा बाधेर राख्छ र राखेको हुनुपर्छ । नभय प्रबिधिको सदुपयोग भन्दा दुरुपयोगले नै हामि र हाम्रा सन्तानलाई लैगिंक असमानताको कुरालाई प्रषय दिईरहन्छ । महिला र पुरुष बिच दुरी पैदा गरीरहन्छ र कोही न कोही त्यसको शिकार भैरहन्छ । त्यसैले त ः महिलाको जीवनपद्धतीमा प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने पुरुष सधै सबै अपराधि होईन संगसंगै हिड्ने सहयात्रि पनि हो । यहि कुरालाई नर्बिसेर महिला हिंसा अन्त्यका लागी पुरुष आवाज, सहभागीता र नेतृत्व आजको आवश्यकता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close