
सुर्खेत,८ असोज । कर्णाली प्रदेशको विकट मानिने डोल्पामा पहिलो पटक यातायात प्रालि दर्ता भएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको तीन वर्ष पुग्दा पनि रुटप्रमिट नपाएको डोल्पामा पहिलो पटक यातायात प्रालि दर्ता भएको हो ।
देवप्रसाद बुढाको नेतृत्वमा स्थानीय ९ जनाले फोक्सुण्डो यातायात प्रालि दर्ता गरेका हुन् ।
यातायात व्यवस्था कार्यालय कर्णालीमा बिहिबार रुटप्रमिटको अनुमति पाएसँगै उक्त प्रालिले डोल्पादेखि रुकुमपश्चिमसम्म गाडी चलाउन पाउने अनुमति लिएको हो ।
यसअघि व्यक्तिगतरुपमा रातो नम्बर प्लेटमा चलाउँदा मनोमानीरुपमा गाडी साहुले चर्को भाडा लिने गरेका थिए ।
व्यक्तिगतरुपमा यातायातका साधन चलाउँदा यात्रुले महँगो भाडा तिर्नुपर्ने बाध्यताको अन्तय गर्नका लागि जिल्लामा पहिलो पटक यातायात प्रालि दर्ता गरेको प्रालि सञ्चालक समितिका कोषाध्यक्ष देवप्रसाद बुढाले जानकारी दिए ।
‘सडक सञ्जालले जोडिएको तीन वर्ष बितिसक्दा पनि यहाँ कुनै यातायात प्रालि दर्ता भएनन्, व्यक्तिगतरुपमा चलाइएका सवारीले यात्रुबाट मनोमानी चर्को भाडा लिने गरेका छन्,’कोषाध्यक्ष बुढाले भने, ‘यात्रुलाई सहज बनाउने उद्देश्यले हामीहरुले प्रालि दर्ता गरेका छौं । यहि महिनाभित्रै प्रालिले यातायातका साधनहरु सञ्चालनमा ल्याउने छौं ।’
एकघण्टाको यात्रामा यात्रुले ३५० रुपैयाँसम्म तिदै आएको स्थानीय भीम बोहोराले बताए ।
‘यहाँ व्यक्तिगत गाडीमा आफ्नो मनोमानी भाडा लिने गरेका छन्, एकघण्टाको यात्रामा पनि साढे तीन सय रुपैयाँ तिर्नुपर्छ,’ उनले भने, ‘गाडी साहुले मनोमानी भाडा लिँदा पनि सम्बन्धित निकाय भने बेखर छ । अब यातायात प्रालि नै दर्ता भएपछि हामीलाई केही राहत हुने छ ।’