
कर्णाली प्रदेश सभा स्थापना भएको सात वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेशसभा सदस्य र कर्मचारीहरूलाई पूर्ण बजेट खर्च गर्न नसक्नुको कारणबारे प्रश्न गर्नुभएको छ।
प्रदेशसभा परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनुभएका प्रदेश प्रमुख जोशीले कर्णालीको समृद्धिका लागि पुँजीगत बजेटको प्रभावकारी खर्च आवश्यक रहेको भन्दै कर्मचारी र प्रदेशसभा सदस्यहरूलाई चासो दिन आग्रह गर्नुभएको छ।
कार्यक्रममा विपक्षी दलका नेता राजकुमार शर्माले प्रदेशको विकास तथा जनअपेक्षाअनुसार काम गर्न सबै दलहरू एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले दलीय स्वार्थभन्दा माथि उठेर जनता केन्द्रित भएर प्रदेश सरकार र प्रदेशसभा सदस्यहरूले कार्य गर्नुपर्ने धारणा राख्नुभयो।
यस्तै, मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको भौतिक संरचना विकास र सेवा प्रवाह सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
कर्णाली प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते बसेको थियो। सोही आधारमा हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवसका रूपमा मनाउने गरिएको छ।





