संवैधानिक परिषद्सम्बन्धी मुद्दाबाट प्रधानन्यायाधीश बाहिरिने

संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्ने सम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा बाहिरिने हुनुभएको छ ।

रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश राणा पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरू छलफलमा जुटेका थिए । छलफललले पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन प्रधानन्यायाधीश राणा अनुपस्थित रहने गरि बाहिरिने निर्णय गरेको अधिवक्ता ‌ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कानुन नै संशोधन गरेर तीन जनाको उपस्थितिमा पनि संवैधानिक नियुक्ति गर्न मिल्ने प्रावधान राख्नुभएको थियो ।

जसअनुसार प्रधानमन्त्री ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले संवैधानिक आयोगमा नियुक्तिका लागि ५० भन्दा बढी व्यक्तिको सिफारिस गरेका थिए । सिफारिसलगत्तै प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नभइ उनीहरूले पदभार ग्रहण गरेका छन् । राणाले अध्यादेश जारी भएपछि संवैधानिक परिषद्को बैठकमा भाग लिएको र विपक्षी भइ लिखित जवाफ समेत पेस गरेकाले उनी अलग हुनुपर्ने माग कानुन व्यवसायीले गरेका थिए ।

संवैधानिक परिषद्ले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाई राणाविनाको संवैधानिक इजलासमा अर्को शुक्रबारका लागि पेशी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close