चोरीका मोटरसाइकलहरू पक्रिनेलाई असिम अटाेकाे १० हजार नगद पुरस्कार

चोरीका मोटरसाइकल पक्रिनेलाई १० हजार रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ ।

बजाज मोटरसाइकलको कर्णाली प्रदेशका लागि आधिकारिका विक्रेता असिम अटो पाटर्सले कुनै पनि कम्पनीका चोरीका मोटरसाइकल पक्रिने ट्राफिक प्रहरीलाई १० हजार रुपैयाँ राशीको पुरस्कार घोषणा गरेको हो ।

‘सुर्खेत ट्राफिक प्रहरीले कर्णालीका अन्य जिल्लाको तुलनामा राम्रो काम गरिरहेको छ । काठमाडौं, पोखरा, बुटवललगायतका क्षेत्रबाट चोरी भएका पल्सर मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको छ । यो खुशीको कुरा हो,’ असिम अटो पाटर्सका प्रोपराईटर लक्ष्मण कँडेलले भन्नु भयो, ‘राम्रो कामलाई राम्रो भन्न सक्नु पर्छ । सरकारले त्यस्ता राम्रो काम गर्नेलाई ट्राफिक प्रहरीलाई पुरस्कृत गर्न सकेको छैन् । असिम अटो पाटर्सले असल काम गर्ने थाहा पाएका ट्राफिक प्रहरीहरुलाई प्रोत्साहित गर्न १० हजार रुपैयाँ राशीको पुरस्कार घोषणा गरेको हो ।’ उहाँले देश र जनताका लागि अरु क्षेत्रमा पनि असल काम गर्ने नागरिकलाई असिम अटो पाटर्सले पुरस्कृत गर्ने योजना बनाएको जिकिर गर्नु भयो ।

उहाँका अनुसार पहिलो पटक चाडपर्वमा चोरीका मोटरसाइकल पक्रिने ट्राफिक प्रहरीलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ । ‘कर्णाली प्रदेशको राजधानी भित्रिने नाकाको कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै चोरीको मोटरसाइकल चोरहरुले प्रदेशमा पुर्याउन सफल भएका छन्,’ उहाँले भन्नु भयो, ‘ट्राफिक प्रहरीले बिहान, दिउँसो सडकमा बिलबुक र लाइसेन्स चेजकजाँच गरिरहेको हुन्छ । चोरीको मोटरसाइकल कर्णालीसम्म पुर्याएको घटनाले अन्य राजमार्गको सुरक्षा अवस्था उदांगिएको छ ।’ देशका विभिन्न चेकपोस्ट पार गरेर चोरीको मोटरसाइकल प्रदेशमा पुर्याउने गरेको पक्राउ परेकाले प्रहरीलाई बयान दिएको छ ।

चोरको नजरमा पल्सर र होन्डा
मोटरसाइकल र स्कुटर चोर्नेले सस्तोभन्दा महंगो र ब्राण्डेड मोटरसाइकल र स्कुटर चोर्ने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय चोरी भएर पक्रिएका अधिकांश मोटरसाइकल र स्कुटर बजाजको पल्सर, होण्डाका मोटरसाइकर र स्कुटरहरु प्रहरीले पक्राउ गरेर सवारी धनीलाई बुझाएको छ ।

बजाजको पल्सर सबैभन्दा बढी चोरी मोटरसाइकल भएको ट्राफिक प्रहरीको भनाइ छ । ‘चोरले सबैभन्दा बढी डिमाण्ड र महंगो मोटरसाइकल र स्कुटर चोर्छन्,’ एक ट्राफिक प्रहरीले भन्नु भयो, ‘बजाजको २२० सीसीको बाइक सबैभन्दा बढी चोरीमा समातिएका छन् ।’

जुन सवारीको समान सहजै पाइने र अफ रोडमा चलाउन सकिन्छ त्यस्ता सवारीको माग ग्रामिण भेगमा बढी हुने हुदाँ यी मोटरसाइकल बढी चोरी हुने उहाँले बताउनु भयो ।

कहाँ जान्छन् चोरीका मोटरसाइकल र स्कुटर
शहरी क्षेत्र वा व्यस्त क्षेत्रबाट महंगो मोटरसाइकल र स्कुटर चोरेर ग्रामिण भेगमा लगेर चोरले सस्तोमा बेच्ने गरेको प्रहरीले पत्ता लगाएको छ । प्रहरीको चेकजाँच न्युन हुने वा नहुने क्षेत्रमा चोरले ३–४ लाख रुपैयाँ पर्ने शहरी क्षेत्र वा व्यस्त क्षेत्रबाट मोटरसाइकर र स्कुटरलाई ३०–४० हजार रुपैयाँमा बेच्ने गरेको प्रहरीको भनाइ छ ।

यसरी हुन्छ चोरी
चोरी विशेषगरि बढी भिडभाड हुने क्षेत्रहरुमा बढी हुने गर्दछ । व्यस्त सडकको किनारा, व्यापारी क्षेत्र, अस्पताल, फुटपात वा गल्लीहरुमा पार्क गरेको मोटरसाइकल र स्कुटरमा चोरको आँखा पर्ने गर्दछ ।

थोरै समयको लागि मात्र पार्क गर्ने भन्दैमा सवारी चालकले ह्याण्डिल लक, डिक्स लक नगरि छोडेर जाने वा चाबी बिर्सिएर जाने गर्दा त्यस्ता मोटरसाइकल र स्कुटर चोरी हुन्छन् । बेवारिसे अवस्था गल्ली, फुटपात वा घरमा नै गेट नै नलगाई पार्क गरिएको मोटरसाइकर र स्कुटरको तार काटेर चोरी भएका घटना ट्राफिक प्रहरीका कहाँ आउने गरेका छन् ।

त्यस कारण सकभर आफ्नो नजर पुग्ने स्थानमा मोटरसाइकर र स्कुटर पार्किङ गर्न ट्राफिक प्रहरीको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close