थप ४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८३

 पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा हालसम्म ८३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मंगलबार दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ८३ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ८ वस्ने वर्ष ६० का एक पुरुषको साउन २६ गते राती १० बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। गत साउन ८ गते निमोनिया भई अस्पतालको आइसियुमा भर्ना भई उपचार गराइरहेको उनी क्षयरोगीका बिरामी समेत थिए।

धनुषा जिल्ला मिथिला विहारी नगरपालिका वडा नं. ५ निवासी विनयतारा फाउण्डेशन (क्यान्सर अस्पताल) जनकपुरमा काम गर्ने ५० वर्षका एक पुरुषको साउन २५ गते  निधन भएको हो। उनको मृत्यु पश्चात साउन २५ गते स्वाब नमुना संकलन गरी परिक्षण गर्दा साउन २६ गते कोरोना पुष्टी भएको हो। झाडापखाला लागी मोटरसाइकलमा अस्पताल आउंदै गर्दा बाटोमा बेहोश भई लडेको र उनलाई अस्पताल पुऱ्याउंदा अस्पतालमा मृत घोषित गरिएको थियो।

काभ्रे जिल्ला पाँचखाल नगरपालिका- १ निवासी ५० वर्षीय एक महिलाको साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो। साउन २५ गते निमोनियाको लक्षण लिई अस्पताल भर्ना भएकी उनको सोही दिन स्वाब नमुना संकलन गरि परिक्षण गर्दा साउन २७ गते कोरोना पुष्टी भएको हो। उनी फोक्सो तथा पित्तथैली सम्बन्धि रोगवाट समेत  ग्रसीत थिइन्।

यस्तै, सिन्धुपाल्चोक जिल्ला बाह्वबिसे नगरपालिका वडा नं. ४ निवासी वर्ष ८४ का एक पुरुषको साउन २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल, महाराजगंजमा निधन भएको हो। मुटु तथा मृगौला सम्बन्धि समस्या लिई साउन २१ गते अस्पताल भर्ना भएको उनको साउन २७ गते कोरोना पुष्टी भएको हो।

पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९४८ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ६६४ उपचारपछि निको भएका छन्। हालसम्म ६९ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close