भारतसँग सीमा जोडिएको एकै गाउँमा ४२ जना संक्रमित

भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लोपटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लौनियामा सङ्क्रमितको सङ्ख्या ४२ जना पुगेको हो ।

तिलाठी कोइलाडी गाउँपालिका भरिमा भने १२ महिलासहित ८८ सङ्क्रमित छन् । सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ६७ महिलासहित ५७६ पुगेको छ । सप्तरी जिल्लामै सबभन्दा बढी सङ्क्रमित भएको स्थानीय तहमा तिलाठी कोइलाडी दोस्रो स्थानमा छ ।

तिलाठी कोइलाडीमा भएका सङ्क्रमितको आधा सङ्ख्या लौनियामै छन् । लौनियाका पान पसले, चिया पसले, कपाल काटने ठाकुरसहित २५ जना सर्वसाधारणको साउन १८ गते एकै दिन सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि लौनियामा समुदायस्तरमै स्वाब सङ्कलन परीक्षण गरिएको थियो ।

समुदायमा सङ्क्रमण देखिएको लौनिया गाउँमा कोभिड–१९ को सङ्क्रमणबाट जोगिन र जोगाउन माइकिङ गरिएको छ । गाउँमा चिया, नास्ता र मदिरालगायतका पसलहरू सञ्चालनमा रोक लगाइएको छ । टाँसिएको भारतको विहार कुनौली आवतजावत गर्न रोक लगाउँदै प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

सङ्क्रमितको बढ्दो सङ्ख्यालाई ध्यानमा राखेर तिलाठी कोइलाडी गाउँपालिकाले एक सय शय्याको आइसोलेसन केन्द्र पनि सञ्चालनमा ल्याएको छ । हाल यो आइसोलेसन केन्द्रमा ८३ जना सङ्क्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close