अवैध लागूऔषधसहित ७ जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका १ माथिल्लो करेलीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका १ चिसापानी बस्ने २२ वर्षीय दीपक खत्री समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
झापाको कन्काई नगरपालिका ३ कोटिहोमबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम र नगद ४ हजार २ सय ७० रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ४ बस्ने ४१ वर्षीय बासुदेव भेटवाल र शिवसताक्षी नगरपालिका ८ शित्तल चोक बस्ने २६ वर्षीय मदन बिक रहेका छन् । इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा बिर्तामोड नगरपालिका ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजबिराज नगरपालिका ७ बस्ने ३५ वर्षीय महमद नसिम र सिरहा सखुवानकर्कटी गाउँपालिका २ बस्ने २० वर्षीय शिव शंकर यादव रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close