पीएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

नेपालले क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्यु गिनी पीएनजी विरुद्धको खेल जित्न १ सय ८० रनको लक्ष्य पाएको छ । टस जितेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनी शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४९ ओभरमा १ सय ७९ रनमा अलआउट भयो ।
ओपनर टोनी उराले पपुवा न्यु गिनीबाट सर्वाधिक ३९ रन बनाए । उनले ५१ बल खेली २ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाए । सेसे बाउ र कप्तान असाद भाला समान ११ रनमा आउट भए ।
हिरी हिरीले ३१ रन बनाए । उनले ६३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । गौडी टिका १५, चाड सोपर र रिलेय हेकुरे समान ९ रनमा आउट भए । नोर्मन भानुआ १४ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा १ मेडन राख्दै ३० र सोमपालले १० ओभरमा ३९ रन खर्चे । करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
लिग–२ मा नेपालले पपुवा न्यु गिनीविरुद्ध यसअघि भएका तीन खेल नै जितेको थियो । तीनै खेल दुबईमा भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन नेपालले आफ्नो बाँकी रहेको ६ मध्येको चार खेल जित्नु पर्नेछ । नेपाल ३० खेलमा २८ अंकसहित साट राष्ट्र सहभागी प्रतियोगितामा छैटौं स्थानमा छ ।
लिग–२ को शीर्ष तीन टोली जुलाई जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै पुग्ने छन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । अमेरिका ३६ खेलमा ३५ अंकसहित चौथो र यूएई ३० खेलमा ३१ अंक जोडि पाँचौं स्थानमा छ । पपुवा न्यु गिनी ३० खेलमा ७ अंकसहित पुछारमा छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close