स्थानीय काठ जंगलमै कुहिँदै, बजारमा मलेसियन काठ

नेपाल सरकारले वन जंगलबाट सालको काठ निकासीमा रोक लगाएको छ । वन फडानी रोक्न सरकारले लामो समयसम्म काठ निकासीमा रोक लगाएसँगै स्थानीय काठ जंगलमै कुहिरहेको छ, भने बजारमा मलेसियन काठ भित्रिरहेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतका व्यवसायीहरूले २०७६ चैतयता वन जंगलबाट काठ ल्याउन पाएका छैनन् । नेपाल सरकारबाट अनुमति पाएर नियम अनुसार कटान गरी राखिएका सालको काठहरू जंगलमै कुहिरहेका छन् भने बजारमा मलेसियन काठ आइरहेको छ ।

भारत हुँदै मलेसियन काठ बजारमा आइरहेको नेपाल वन पैदावर उद्योग व्यवसायी संघ सुर्खेत जिल्ला अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । ‘काठ पर्याप्त मात्रामा पाइने सुर्खेतमा हिजो–आज मलेसियन काठ ठूलो मात्रामा भित्रिरहेको छ,’ अध्यक्ष गिरीले भने, ‘स्थानीय काठ बन्द भएपछि व्यवसायीहरू मलेसियन काठ किन्न बाध्य छन् । चैत्र यता मात्रै सुर्खेतमा ८ देखि १० करोड सम्मको मलेसियन काठ भित्रिएको छ ।’

सुर्खेतका १५ काठ उद्योगमध्ये ४ वटा उद्योगमा मलेसियन काठ छन् भने अन्य उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । करोडौँको संख्यामा नेपालका सम्पत्ति कुहिएको अवस्था छ भने विदेशी काठ भित्रिरहनु दुखद कुरा भएको उनको भनाइ छ । नेपाल सरकारले सालको काठबाहेक अन्य काठको निकासी नरोकिनुलाई मलेसियन काठ भित्र्याउने प्रमुख कारण रहेको व्यवसायीको आरोप छ ।

काठ निकासी रोकिएसँगै आफूहरूको ४ करोड बराबरको काठ जंगलमै रोकिएको हिमाल सह मिल उद्योग वीरेन्द्रनगरका सञ्चालक रामबहादुर सिजालीले बताए । नेपाल वन पैदानवार उद्योग व्यवसायी संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष सिजालीले लामो समयसम्म काठ नपाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । मलेसियन काठ सुर्खेत हुँदै दैलेख, जुम्ला लगायतका कर्णालीका जिल्लामा समेत पुगिरहेको छ ।

यसअघि नेपाल सरकारले कैलालीमा वन फँडानी भएको भन्ने उजुरीका आधारमा सालको काठ निकासीमा रोक लगाएको थियो । सुर्खेतका व्यवसायीहरूले कैलालीमा भएको घटनाको आधारमा देशभरकै काठ निकासी रोक्न नहुने बताएका छन् । नेपाल सरकारले २०७७ जेठ १५ गते बाट काठ निकासीमा रोक लगाएको थियो । जेठबाट काठ निकासीमा रोक लगाइए पनि व्यवसायीहरूले कोरोनाका कारण लकडाउन हुँदा चैतबाटै काठ ल्याउन पाएका छैनन् ।

केन्द्र सरकारको मन्त्रिपरिषद् बैठकले नै सालको काठ निकासी रोकेकाले खुलाउने विषयमा केन्द्र सरकारमै भर पर्ने डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द दाहालले बताए । ‘क्याविनेटले जेठ १५ बाट बन्द गरेको थियो,’ उनले भने, ‘सुर्खेतमा लकडाउनदेखि नै बन्द रहेको छ । त्यसयता व्यवसायीले काठ भित्र्याउन पाएका छैनन् ।’

काठ निकासी रोकिएसँगै सुर्खेतमा ५० हजार क्युफिट बराबरको काठ जंगलमै कुहिने अवस्थामा पुगेको उनको भनाइ छ । ‘अहिले माग थेगिनसक्नु छ,’ उनले थपे, ‘खुल्ने केही निश्चित छैन । प्रदेश सरकारलाई खुलाउनका लागि पहल गर्न हामीले आग्रह गरे पनि केही हुन सकेको छैन ।’

अवैध तस्करी बढ्यो

वन जंगलबाट सालको काठ निकासी रोकिएसँगै जंगलबाट अवैध काठको तस्करी बढेको छ । कर्णाली प्रदेश प्रहरीले चैतयता ठूलो मात्रामा अवैध काठ तस्करी गर्ने १५ जनालाई काठसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेतमा १० जना, रुकुम पश्चिमका एक, डोल्पाका तीन र हुम्लाका एक जना रहेका छन् । नियम अनुसार काठ निकासी बन्द भएपछि अवैधरूपमा तस्करी बढेको डिभिजन वन कार्यालयका प्रमुख दाहालले बताए । चैत्र यता डिभिजन वन कार्यालयमा १८ वटा अवैध काठ तस्करीका मुद्दा आएको उनको भनाइ छ । अन्य जिल्लाको तुलनामा सुर्खेतमा तस्करी धेरै हुने गरेको भन्दै उनले सजिलै काठ नपाउँदा अवैध गतिविधि बढेको हुन सक्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close