काेराेना संक्रमणपछि नेपालगञ्ज कारागारमा त्रास : आइसोलेसनकाे अभाव भन्दै कैदीहरूको परीक्षण गरिएन

नेपालगञ्ज कारागारका सातजना कैदीमा कोरोना संक्रमण देखिएको छ।

साउन २० गते कारागारका १३ कैदीको पीसीआर परीक्षण गराउँदा सातजनाको रिपोर्ट पोजिटिभ आएको जेलर देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

३०० जनाको क्षमता रहेको कारागारमा अहिले ७९८ कैदी छन्। २५० जना पुरूष क्षमता रहेकोमा ७५१ जना र ५० महिला कैदीको क्षमता रहेकोमा ४७ जना महिला कैदी छन्।

सातजना कैदीमा कोरोना संक्रमण देखिएपछि कारागारभित्र त्रास फैलिएको छ। “कारागारभित्र खुट्टा टेक्ने ठाउँ छैन, भित्र भएका सबैजनामा त्रास छाएको छ,” एक कैदीले भने।

कैदीबन्दी धेरै हुँदा व्यवस्थापनमै समस्या भइरहेको भन्दै जेलर श्रेष्ठले कोरोना संक्रमणबाट जोगिन कुनै उपाय अपनाउन सक्ने अवस्था नरहेको बताए।

“हामीले बेला–बेला साबुन पानीले हात धुन, मास्क अनिवार्य लगाउन, सेनिटाइजरको प्रयोग गर्न भनिरहेका छौं। त्यो बाहेक भौतिक दूरी कायम गराउने कुरा सम्भव छैन,” उनले भने।

कारागारमा हिँड्नलाई समेत ठाउँ छैन। राति सुत्दा कैदीहरूलाई साह्रै समस्या भइरहेको श्रेष्ठको भनाइ छ।

“यस्तो अवस्थामा कोरोना संक्रमण देखियो। सबैजनाको पीसीआर परीक्षण गराउन माग गरेका छौं। तर, स्वास्थ्य कार्यालयले केही दिन पछि मात्र हुन्छ भनेको छ,” जेलर श्रेष्ठले भने।

बाँकी कैदीको पीसीआर परीक्षण गर्न अझै एक साता लाग्न सक्ने उनको भनाइ छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले सबै कैदीको एकैपटक पीसीआर परीक्षण गर्न नसकिने बताए।

प्राथमिकता छुट्याएर विस्तारै परीक्षण गरिने उनको भनाइ छ। बाँकेमा रहेका आइसोलेसन सेन्टर भरिएकाले थप संक्रमतिलाई राख्न समस्या भइरहेको उनी बताउँछन्।

उनले भने, “सबै कैदीको एकैपटक परीक्षण गराउँदा राख्ने ठाउँ पनि हुँदैन। उमेरका आधारमा, स्वास्थ्य अवस्थाको आधारमा प्राथमिकता छुट्याएर परीक्षण गरिन्छ।”

बाँकेमा अहिले १०२ जना कोरोना संक्रमतिको उपचार भइरहेको छ। विस्तारै थप आइसोलेसन सेन्टर पनि विस्तार गर्ने र पीसीआर पनि परीक्षण गर्ने दुवै काम सँगै भइरहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close