Murti

प्रदेश २ को सप्तरी जिल्ला र विभिन्न पालिकामा भदौ १ गतेसम्म निषेधाज्ञा

प्रदेश नम्बर २ को विभिन्न स्थानीय तहले निषेधाज्ञालाई निरन्तरता दिएका छन् । प्रदेश नम्बर २ का जिल्लाहरुमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको र नगरपालिकाका कर्मचारीहरु समेत संक्रमित भएकाले सप्तरी जिल्ला र विभिन्न पालिकामा भदौको पहिलो सातासम्मका लागि निषेधाज्ञा घोषणा गरिएको हो ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, सम्सी नगरपालिका, औरही नगरपालिका र सप्तरी जिल्लामा निषेधाज्ञालाई निरन्तरता दिने गरी म्याद थप्दै निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा निषेधाज्ञाको अन्तिम दिन आईतबार विपद व्यवस्थापन समिति धनुषाको वैठक बसी साउनको ३२ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउपालिकाको २ वडामा भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरी बढाएको छ भने औरही नगरपालिकाले  अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै सम्सी गाउपालिकाले अत्यावश्यक कामबाहेक सम्पूर्ण कामकारवाही नै ठप्प गरेको छ । महोत्तरीको सम्सी गाउपालिका, गौशाला नगरपालिका र औरही नगरपालिकाले नगर कार्यपालिकाको वैठकबाट निषेधाज्ञा जारी गरेको हो ।

त्यसैगरी सप्तरी जिल्ला भरी नै भदौ २ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । सर्लाही जिल्लामा साउन २७ गतेसम्म, पर्सा र बारा जिल्लामा अनिश्चितकालिनसम्म र रौतहट जिल्लामा पनि केही दिनका लागि निषेधाज्ञा जारी नै छ ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ५ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार विभिन्न पालिका तथा जिल्लामा निषेधाज्ञा लागू गरिएको जनाइएको छ ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ ।

प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । प्रदेश नम्बर २ को पर्सा, बारा, रौतहट, सर्लाही र सप्तरी जिल्ला भरी नै निषेधाज्ञा स्थानीय प्रशासनले गरेको छ भने महोत्तरी, धनुषा र सिरहाका केही पालिकाहरुलाई स्थानीय तह र जिल्ला प्रशासनले कोरोना संक्रमणको अवस्थालाई रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा गरेको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close