
भाजपुर – कम्युनिस्टहरूको गढ भनेर चिनिएको भोजपुर जिल्लामा नेपाली कांग्रेस बलियो हुँदै जान थालेपछि उपनिर्वाचनलाई प्रभावित तुल्याउने गरेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उच्च नेताहरू सलबलाउन थालेका छन् ।
भोजपुर जिल्लाको पौवादुम्बा गाउँपालिकाको वडा नम्बर १ स्यामशिलामा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सम्बरबहादुर कार्कीको पक्षमा माहोल बढ्दै गएपछि कम्युनिस्टहरूलाई तनाव भएको हो ।
नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले उपनिर्वाचन प्रभावित हुने कुनै पनि गतिविधि नगर्न कम्युनिस्ट मख्यमन्त्री राईलाई चेतावनी दिएका छन् ।
‘दुई वर्ष सुतेर बसेका प्रदेश १ का मुख्यमन्त्रीजीलाई अहिले आएर उपनिर्वाचनका बेला विकासका कार्यक्रम गर्ने रहर चलेछ’, चापागाइँले भने, ‘काम गर्ने बेला सुतेर बस्ने । उपनिर्वाचनका बेला यसो गर्छु, उसो गर्छु भन्ने ? मुख्यमन्त्रीजीले आफ्नो दायित्व र निर्वाचन आचार संहितालाई ध्यान दिनुपर्छ । होइन भने कांग्रेसले जवाफ दिन जानेको छ ।’
नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँले भोजपुरको निर्वाचन कार्यालयलाई आचार संहिता कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका छन् ।
प्रदेश २ का मुख्यमन्त्री राईले केही दिन अगाडि निर्वाचन आचार संहिता विपरित भोजपुरका विभिन्न स्थानमा विकासको कार्यक्रम ल्याउँछु भनेर आश्वासन दिएका थिए ।
उनले रंगशालाको शिलान्यास गर्नेदेखि आकाशेपुल, बिजुली बाल्छु जस्ता आश्वासन दिएका थिए । आचार संहित उल्लंघन गर्नेमा सत्तारुढ नेकपाका प्रतिनिधि सभाका सांसद सुदन किरातीपनि पहिलो नम्बरमा रहेको भोजपुर कांग्रेसले आरोप लगाएको छ ।