विदेशबाट आउनेकाे परीक्षण नगर्दा सप्तरीका समुदायमा पुग्यो कोरोना

मलेसियाबाट आएका सप्तरीको राजविराजका एक युवा काेराेना परीक्षण नै नगरी घर पुगे। उनकाे पिसिआर परीक्षण त भएन नै, क्वारेन्टाइन पनि बसेनन्। डेढ महिनापछि उनको मृत्यु भयाे। परीक्षण गर्दा उनमा काेराेना संक्रमण पुष्टि भयाे।

उनकाे मृत्युपछि परिवारका सदस्यकाे काेराेना परीक्षण गरियाे। परिवारका पाँचै सदस्यकाे पिसिआर रिपाेर्ट पाेजेटिभ आयाे। जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द कुमार ठाकुरका अनुसार परिवारको सम्पर्कमा आएका अन्यलाई कन्ट्याक्ट ट्रेसिङ गर्दा २५ जनामा कोरोनाकाे संक्रमण देखियाे।

प्रशासन कार्यलयका अनुसार भारतलगायतका अन्य देशबाट आउनेहरुले सावधानी नअपनाउँदा कोरोनाकाे संक्रमण फैलिएकाे हाे। ‘हामीले क्वारेन्टाइनमा बसेकालाई बाहेक पिसिआर टेस्ट गरेका थिएनौँ,’ प्रशासकीय अधिकृत ठाकुरले भने, ‘अहिले समुदायस्तरमा गएर परीक्षण गरेका छौँ। त्यसकारण कोरोना संक्रमितको संख्या धेरै देखिएको छ।’

जिल्ला स्वास्थ्य कार्यलय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार जिल्लाभर अहिलेसम्म ५ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा ३ सय ७९ जना निको भइसकेका छन् भने बाँकी संक्रमितकाे गजेन्द्रनारायण सिंह अस्पताललगायतका स्थानमा उपचार भइरहेको छ।

‘बुधबार देखिएका संक्रमितका परिवारको र उनका सम्पर्कमा आएकालाई बिहीबार कन्ट्याक्ट ट्रेसिङ गर्दैछौँ,’ यादवले भने, ‘यतिन्जेल क्वारेन्टाइनमा बसेकालाई मात्रै पिसिआर गरिएको थियो। अब समुदायमा पनि गरिन्छ।’

राजविराजमा कोरोनाको कारण एक जनाको मृत्यु भएपछि साउन २० गतेदेखि २६ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। कोरोना संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएकाे हाे ।

औषधि पसल, खाद्यन्न फलफूल, अस्पताल, स्वास्थ्य केन्द्र, मालसामान ओसार पोसार, पूर्वाधारमा प्रयोग हुने ढुवानीको भण्डारण वितरण फोहोरमैला संकलन पेट्रोलियम पर्दाथको ओसारपसार अत्आवश्यक सेवाबाहेक अन्य काम गर्न नपाइने बताएको छ। यदि निषेधाज्ञा उलङ्घन भए सङक्रामक रोग ऐन २०२० को दफा २  बमोजिम  कारबाही गरिने प्रशासनले जनाएकाे छ।

विदेशबाट आएकाले सावधानी अपनाएनन् 
सप्तरी जिल्लाको भारतसँग ७८ किलोमिटर सीमाना खुला छ। अर्मपर्मदेखि सीमापार ओहोरदोहोर पनि उतिकै हुन्छ। जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत ठाकुरका अनुसार सरकारले एउटा नाका खुला भने पनि अन्य नाकामा पनि कडाइ हुन सकेकाे छैन।

‘अस्थायी क्याम्प बनाएर सशस्त्र प्रहरी बसेको थियो। बर्खा लागेसँगै अस्थायी क्याम्प हटेका छन्। एउटा क्याम्पमा २० देखि २५ जना प्रहरी छन्,’ ठाकुरले भने, ‘त्यति प्रहरीले ७८ किमी क्षेत्र कसरी नियन्त्रण गर्न सक्छन्?’ भारतको नाका खुलै हुनु, विदेशबाट आएका नागरिकले पिसिआर परीक्षण नगराउनु, धेरै भीडभाड गर्नुले कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close