
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रको विकासमा व्यापक सुधार आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले खेल संरचनाहरुमा व्यापक आधुनिकता प्रवेश गर्नुपर्ने बताउनुभएको छ ।
आज कर्णाली प्रदेश खेलकुद विकास परिषद्को ‘प्रथम वार्षिकोत्सव’ समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख परियारले खेलकुद क्षेत्रको आधुनिक संरचना विकासले उत्कृष्ट खेलाडी उत्पादन हुने र मुलुक स्वस्थ जनशक्ति प्राप्त गर्ने बताउनुभयो ।
मुलुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको जनाउँदै प्रदेश प्रमुख परियारले कर्णाली प्रदेश सरकारले समग्र खेलकुदका निम्ति प्रदेशकै गौरवको आयोजना प्रदेश रंगशालाको निर्माण प्रारम्भ गरिसकेको बताउनुभयो । खेलकुद विकासको निम्ति आफ्नो क्षेत्रबाट निरन्तर पहल गर्ने बताउनुभएका उहाँले ‘प्रथम वार्षिकोत्सव’ समारोहबाट तमु (गुरुङ) समुदायको ल्होसार पर्वको उपलक्ष्यमा गुरुङ समुदायसहित सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
त्यस्तै, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले खेल क्षेत्रको विकास र उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा दश हजार दर्शक अट्ने रंगशाला निर्माणको कार्य थालेको बताउनुभयो । प्रमुख सचिव श्रेष्ठले भारतको मुम्बईमा भएको पावर लिफ्टिङ खेलमा पदक हाँसिल गर्ने कर्णालीका खेलाडीलाई रु।दुई लाख पुरस्कार दिने कर्णाली मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्णय गरेको बताउँदै खेलाडी प्रोत्साहन हुने गरी आगामी बजेट छुट्याउन खोजिएको जनाउनुभयो ।