आजबाट देशैभरीका होटल व्यवसाय खुल्ने, यसरी हुँदैछ सञ्चालनको तयारी

आजबाट औपचारीक रुपमै होटल व्यवसाय खुल्ने भएका  । गत चैत्र ११ गते देखि मुलक पूर्णतः लकडाउनमा गएसँगै बन्द हुनपुगेका नेपाली होटल तथा पर्यटन व्यवसाय लामो समयपछि बिहिबारबाट पुनः सञ्चालनमा आउने भएका हुन् ।

आजै राजधानीका केही तारे होटलसहित साना तथा मझौला होटल तथा रेष्टुरेन्टहरु सञ्चालन आउने भएका छन् । काठमाडौँस्थित साङ्ग्रीला, ¥याडिसन, होटल मल्ललगायत तारे होटलहरुले व्यवसाय सञ्चालनको पूर्ण तयारी गरेका छन् । त्यस्तै अन्य साना तथा पर्यटकमैत्री डिलक्स होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरुले समेत यतिखेर व्यवसायमा फर्किने तयारी गरिरहेका छन् ।

तर यता होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल(हान)ले भने सरकारले व्यवसायमा फर्कन आह्वान गरेपनि वातावरण सहज भइनसकेकाले आफुहरु पर्ख र हेरको अवस्थामा रहेको बताएको छ ।

एशोसिएशनको तर्फबाट रातोपाटीसँग कुरा गर्दै अध्यक्ष सिर्जना राणाले कोभिड–१९ को संक्रमण र सन्त्रास रहेकै बेला व्यवसायमा फर्किनु पर्दा बजारको अवस्थालाई हेरेर व्यवसाय सञ्चालन गर्ने बताइन् ।

‘अहिले वातावरण सहज भइसकेको अवस्था होइन । अहिले पनि कोभिड–१९ को संक्रमण र सन्त्रास उत्तिकै छ । कोरोनाको भयकै बीच सरकारले होटल व्यवसाय खोल्नु भनेकाले हामी व्यवसायमा फर्किदै छौँ । तर पूर्णरुपमा व्यवसाय खोल्ने अवस्था अझै बनिसकेको छैन ।’

अध्यक्ष राणाले भनिन्, ‘सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान समेत खोल्ने निर्णय गरेकाले होटलको आवश्यकता र सम्भावनालाई मध्यनजर गर्दै हामी व्यवसायमा फर्किन तयार भएका छौँ, तर आंशिक मात्रै ।’

अध्यक्ष राणाका अनुसार पहिलो चरणमा २० प्रतिशत होटल सञ्चालन ल्याइने तयारी भएको छ । त्यसपछि भने बजार र व्यवसायीक अवस्थालाई हेरेर बाँकी होटलहरु पनि सञ्चालनमा ल्याइनेछ । तर, व्यवसाय संचालन गर्ने÷नगर्ने निर्णय भने स्वःनिर्णयका आधारमा स्वयम् व्यवसायीलाई नै सुम्पिएको अध्यक्ष राणाले बताइन् ।

यता, साना तथा मझौला होटल तथा पर्यटन व्यवसायीहरुले पनि व्यवसाय पुनः सञ्चालनको तीब्र तयारी थालेका छन् । सरकारी निर्णयबमोजिम नै श्रावण १५ गतेदेखि नै व्यवसाय सञ्चालन गर्न विभिन्न संघ संगठनहरुले आफु मातहतमा व्यवसायीहरुलाई आह्वान गरिसकेका छन् ।

यस्तैमा होटल तथा पर्यटन व्यवसायी महासंघले सातै प्रदेश र ७७ वटै जिल्लामा रहेका आफ्ना सदस्य होटल व्यवसायीहरुलाई व्यवसायमा फर्कन आह्वान गरिसकेको छ ।

कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभाव तथा समस्याका बारेमा सोमबार र मंगलबार राजधानीमा समीक्षा गर्दै महासंघले भावी रणनीतिसहित देशैभरीका होटल व्यवसायीहरुलाई व्यवसायमा फर्कन आह्वान गरेको हो ।

भावी रणनीतिबारे जानकारी दिँदै होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले अहिलेको विषम परिस्थितिमा होटल व्यवसायमा यावत समस्या भएपनि उक्त समस्यासँग जुधेर भएपनि अघि बढ्ने निर्णय भएको बताए ।

‘अहिले हामी व्यवसायीहरुसँग समस्याका चाङ छन् । कोभिड–१९ सँगै व्यवसाय बन्द हुँदा, सो समयको घर भाडा, कर्मचारी खर्च तथा व्यवसायका लागि गरिएको बैंकिङ्ग लगानीको मुद्दाहरु समस्याका रुपमा छन् । यी विषयहरुलाई व्यवस्थापन गर्न निकै गाह्रो परिरहेको अवस्था छ । र पनि हामीले हरेस मानेका छैनौँ ।’

अध्यक्ष उप्रतीले भने, यी यावत् समस्याहरुलाई फेस गरेर भनेपनि हामी पुनः व्यवसायमा फर्किन्छौँ । अहिले हामी व्यवसायीहरु बीच यसै खालको सहमति भएको छ । बाँकी समस्याहरु विस्तारै सल्टाउँदै जाने छौँ,’ उप्रेतीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close