स्वाँराको दुर्घटनाले प्रधानमन्त्रीको निन्द्रा लग्यो,कम्तीमा दिनको ७ जनाको मृत्यु हुने

सार्वजनिक यातायातका साधन दुर्घटनाका दर तीव्र ढंगले बढ्न थालेपछि प्रधानमन्त्री ओलीले कारण बुझ्न बोलाएपछि सोमबार गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित सरोकारवाला सबै टोली बालुवाटारस्थित प्रधानमन्त्रीनिवास पुगेका थिए ।

दुर्घटनाका कारण र तथा न्यूनीकरणका उपाय प्रधानमन्त्रीसमक्ष राख्न गृहसचिव प्रेमबहादुर राई तयारी गर्दै थिए । उनलाई प्रधानमन्त्री ओलीले बीचैमा रोक्दै पुनः स्वाँराको दुर्घटना सम्झिए । उनले भने, ‘स्वाँरा दुर्घटनामा टुहुरा भएको एउटा बालक रुँदै गरेको समाचारमा देखेँ । यसले साह्रै मन पोल्यो । यस्ता दुर्घटना प्रत्येक दिनजसो भएका छन् । यसैगरी, कति बालक टुहुरा भए होलान् । कति बूढाबूढीले सहारा गुमाए होलान् । यसलाई रोक्न सकिएन भने जति प्रगति गरे पनि केही काम लाग्दैन ।’

बैठक अझ भावुक बन्यो । तर, प्रतिक्रिया कसैले जनाएनन् । प्रधामन्त्रीलाई सुनि मात्रै रहे । माहोल सम्हाल्दै प्रधानमन्त्री ओलीले यही क्रममा भतिजो दुर्घटनामा परेको विगत सम्झिए । झापाका उनी मलेखुमा माछा खान हिँडेका रहेछन् । गाडी आफैँले हाँकेका । त्यसवेला मापसे जाँच थिएन । मदिरा सेवनपछि गाडी हाँकेका उनी एकाएक बेसुरा भएछन् । मलेखुमा रोकिनुपर्ने कुरिनटार पुगेछन् ।

सम्हाल्नै गाह्रो भएपछि उनले गाडीलाई सडक छेउको बारमा जोताएछन् । सोही बारका कारण उनी बाँचेछन् ।दुर्घटनाबाट भतिज बाँचेको प्रसंग जोड्दै प्रधानमन्त्री ओलीले सहभागीलाई निर्देशनात्मक शैलीमा भने, ‘सडकका छेउमा अब बार लगाउनुस् । दुर्घटना भए पनि कमसेकम मान्छे त मर्दैन । सडक बनाउने स्वीकृति दिँदा अब डबल लेनको मात्रै होस् ताकि यस्ता बार बनाउन सजिलो बनोस् ।

सवारी दुर्घटनाबाट मुलुकमा प्रत्येक दिन कम्तीमा सातजनाको मृत्यु हुने गरेको छ । ज्यान जान गरेको देखिएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार मृत्यु हुने अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन् । मुलुकभर प्रत्येक वर्ष औसतमा १० हजार सवारी दुर्घटना हुने गर्छन् । जसमा कम्तीमा २५ सयको ज्यान जान्छ । अर्थात् मुलुकमा हुने सवारी दुर्घटनामा प्रत्येक दिन ६.८० जनाले अकालमा ज्यान गुमाउँछन् । जसमा १२ हजारभन्दा धेरै घाइते हुन्छन् ।

बैठकमा प्रधानमन्त्री ओली हवाईजहाज दुर्घटना हुँदा तुरुन्तै अध्ययन समिति गठन हुने, तर सार्वजनिक सवारीसाधन दुर्घटना समिति गठन नहुने परिपाटीतर्फ प्रवेश गरे । उनले भने, ‘जहाज दुर्घटना हुन्छ । तुरुन्तै अध्ययन हुन्छ । कारण पत्ता लाग्छ । भविष्यमा यस्ता दुर्घटना हुन नदिन सचेतना अपनाइन्छ । तर, हामीकहाँ सार्वजनिक बस दुर्घटना हुँदा अध्ययन गर्ने परिपाटी नै छैन । यो गलत हो । यसअघि भएका र अब हुने सबै दुर्घटनामाथि तुरुन्तै अध्ययन गर्नुहोस् । यसका कारण खोज्नुहोस् । र, तुरुन्तै न्यूनीकरणका उपाय कार्यान्वयन गर्नुहोस् ।’

सार्वजनिक यातायातका साधन चलाउने सवारीचालकका अनुमतिपत्र पुनः परीक्षण गरिनुपर्नेतर्फ पनि प्रधानमन्त्रीको ओलीको चासो रह्यो । उनले भने, ‘निजी सवारीसाधन दुर्घटना हुँदा एउटा परिवार प्रभावित बन्न सक्छ । तर, पब्लिक भेहिकल दुर्घटना हुँदा एउटा गाउँ नै प्रभावित बन्न सक्छ । त्यसो हुँदा पब्लिक भेहिकल चलाउने चालकका लाइसेन्स एकपटक पुनः अवलोकन होस् । त्रुटि भए तुरुन्तै सच्चाइयोस् ।’

नजिकै बस्ने युवती र ठूलो अवाजमा बज्ने म्युजिक सिस्टमले चालकको ध्यान अन्यत्रै मोडिने हुँदा पनि यस्ता दुर्घटना हुने गरेको तथ्यतर्फ पनि प्रधानमन्त्री ओलीको खास चासो रह्यो । उनले भने, ‘चालकछेउमा युवती राखिन्छ । अनि ठूलो अवाजमा गीत बजाइन्छ । यसले चालकको ध्यान अन्यत्रै मोड्छ । त्यसो हुँदा यसलाई तुरुन्तै रोक्नुहोस् । ओभरलोड गर्न नदिनुस् । छतमा मान्छे हाल्ने काम बन्द होस् । बदमासी भए कारबाही होस् ।’

गृहसचिव प्रेमकुमार राईले सडक दुर्घटनाको वर्तमान अवस्था, न्यूनीकरणका उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । भैतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमूख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए ।

 प्रधानमन्त्री केपी ओली, भन्छन् ‘निजी सवारीसाधन दुर्घटना हुँदा एउटा परिवार प्रभावित बन्न सक्छ । तर, पब्लिक भेहिकल दुर्घटना हुँदा एउटा गाउँ नै प्रभावित बन्न सक्छ । त्यसो हुँदा सार्वजनिक यातायातका साधन चलाउने चालकका लाइसेन्स एकपटक पुनः अवलोकन होस् । त्रुटि भए तुरुन्तै सच्याइयोस् ।’

तीन महिनामा एक लाखलाई  ट्राफिक सचेतना 

ट्राफिक प्रहरीले मंगलबारबाट उपत्यकाभित्र ट्राफिक सचेतना अभियान चलाउने भएको छ । तीन महिनासम्म चल्ने सचेतना कार्यक्रमअन्तर्गत कम्तीमा एक लाख सर्वसाधारण सहभागि हुनेछन् । २० वटा पोइन्ट गठन गरी दिइने सचेतनामा विशेष गरी सवारी चालक र सहचालकमाथि केन्द्रीत हुनेछ । पैदलयात्रीका लागि पनि ट्राफिक प्रहरीले सोही तवरले सचेतना अभियानमा सहभागी गराउनेछ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले यस्तो अभियान चलाउन लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गृहको तथ्यांकअनुसार आव ०७४–७५ को भन्दा ०७५–७६ मा झन्डै १८ प्रतिशतले सवारीसाधन दुर्घटनाको संख्या बढेको छ । आव ०७४–७५ मा मुलुकभर १० हजार ९६५ दुर्घटना भएका थिए । तर, आव ०७५–७६ मा त्यो संख्या १७.९६ प्रतिशतले बढेर दुर्घटनाको संख्या १३ हजार ३ सय ६६ पुग्यो । आव ०७४–७५ को दुर्घटनामा मुलुकभर दुई हजार पाँच सय ४१ ले ज्यान गुमाए यो संख्या आव ०७५–७६ को भन्दा ८.८९ प्रतिशतले कम हो । आव ०७४–७५ मा मुलुकभर चार हजार १४४ जना गम्भीर घाइते भए । यो संख्या ०७५–७६ को भन्दा ५.३ प्रतिशतले कम हो । त्यस्तै, आव ०७४–७५ मुलुकभर आठ हजार २४७ घाइते भए । यो संख्या ०७५–७६ को भन्दा २०.३९ प्रतिशतले कम हो ।

गृह मन्त्रालयको तथ्यांकअनुसार ७४ प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको छ । आव ०७५–७६ को तथ्यांकअनुसार मुलुकभर १३ हजार ३६६ दुर्घटना भए । जसमध्ये नौ हजार नौ सय १९ दुर्घटना चालकका लापरबाहीका कारण भए । यो भनेको कुल दुर्घटना संख्याको ७४.२१ प्रतिशत हो ।

तीव्र गतिले सवारी चलाउनु दुर्घटनाको अर्को कारण हो । तथ्यांकअनुसार आव ०७५–७६ मा मुलुकभर दुई हजार १७१ दुर्घटना तीव्र गतिका कराण भए । यो कुल दुर्घटना  संख्याको १६.२४ हो । दुर्घटना हुने अर्को कारण मादक पदार्थ सेवन पनि हो । आव ०७५–७६ मा मापसेका कारण मात्रै मुलुकभर ३.११ प्रतिशत अर्थात् ४१६ दुर्घटना भए । सोही वर्ष ओभरटेकका कारण १.९६ प्रतिशत (२६३), १.४८प्रतिशत (१९८) यात्रुको गल्ती र २.९८ प्रतिशत (३९९) दुर्घटना भएको गृहको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close