
काठमाडौं । आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस ।
प्रत्येक वर्ष श्रमिक दिवसका अबसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक र्याली जस्ता कार्यक्रम आयोजना गर्दै आएपनि कोरोना महामारीका कारण यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम हुने छैन ।
झन्डै डेढ महिना लामो लकडाउनका कारण आममानिसको जिवन असहज बनेको छ भने सबैभन्दा ठूलो मर्कामा श्रमिक वर्ग नै छन् ।
जुनसुकै क्षेत्रका मजदुर पनि कामविहिन छन् । विकास निर्माणका कामहरू सबै ठप्प प्रायः छ भने उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द छन् ।
वैदेशिक रोजगारीका क्रममा रहेका लाखौँ नेपालीको अवस्था पनि उस्तै भयावह छ ।
विश्वव्यापी वर्तमान संकटको अवस्थामा श्रमिक वर्गलाई राहत र विशेष सहयोगको प्याकेज व्यवस्था गर्नु पर्ने देखिएको छ ।
सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।
सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।
त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।
नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।