नक्कली सुन देखाई ठगी गर्ने ४ जना पक्राउ

नक्कली सुन देखाई ठगी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट ४ जनालाई पक्राउ गरेको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने ३१ वर्षीय रामवीर चौधरी, वडा नं ६ बस्ने ४५ वर्षीय लालबाबु राय यादव, वडा नं १८ बस्ने ३८ वर्षीय राकेश कुर्मी र वडा नं १७ बस्ने वर्ष २७ वर्षीय अवधेश कुमार राय पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नं १५ हिमालयन होटल अगाडिबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले बीआर ३१पी ०६४९ नम्बरको गाडीमा बसेर सर्वसाधारणलाई नक्कली सुन देखाई भ्रममा पारी ठगी गर्ने नियतले बिक्री गर्न लागेको प्रहरीको दाबी छ ।
प्रहरीले उनीहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेट भएको गाडी र सुनको जलप भएको पहेँलो बिस्कुट आकारको धातु पनि बरामद गरेको छ ।
वीरगञ्ज सुनचाँदी व्यवसायी संघमा पठाएर परीक्षण गराउँदा सुनको जलप भएको धातु भनी पुष्टी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
उनीहरु विरुद्ध ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close