
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगकी प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्।
युएसएडले एक विज्ञप्ति जारी गरेर पावर फेब्रुअरीको पहिलो हप्तामै काठमाडौं आउन लागेकी जनाएको छ । उनी आउने आइतबार काठमाडौं आइपुग्ने बताइएको छ ।
राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्ड नेपाल भ्रमणबाट सकेर फर्केको एक साता नबित्दै उच्च अमेरिकी अधिकारी नेपाल आउन लागेकी हुन्।
पावरले नेपालमा राजनीतिक भेटघाटसँगै नागरिक समाजका अगुवा, विद्यार्थी, व्यापारी र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछिन्। प्रजातान्त्रिक, समावेशी, समृद्ध र सुदृढ मुलुक बन्न नेपालले गरिरहेका प्रयत्नमा छलफल केन्द्रित रहने युएसएडले जनाएको छ ।