झापामा एक जनामा संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं, बैशाख १४ । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । झापामा एक जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५२ पुगेको हो ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापा निवासी ५० वर्षीय पुरुषमा संक्रमण फेला परेको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, संक्रमित भएका मध्ये आइतबार थप चार जना निको भई घर फर्किएका छन् । योसहित १६ जना उपचारपछि निको भई घर फर्किएका हुन् ।

नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा कोरोना निको भएर घर फर्किएका छन् । उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भएका हुन् ।

सोही अस्पतालमा उपचाररत अरु तीन जनापनि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार धनगढीमा १, वीरगन्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र उनीहरु सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आइतबार वीरगञ्जकै २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close