दशैंमा सागसब्जी र सलाद नखाने, मासु मात्रै खाने गर्दा के हुन्छ ? (पोषणविद्को सुझाव)

काठमाडौं । जंगली युगमा मानिसहरु भोक लाग्ने जे भेट्यो त्यही खाने गर्थे । तर विकासक्रमसँगै उनीहरुको खानपिन शैलीमा पनि परिवर्तन आउँदै गयो । खानपिनकै कारण मानिसहरु स्वस्थ र कति रोगी हुने ? भन्ने कुरा अध्ययनहरुबाट देखिएपछि खानपिन शैलीमा पनि सुधार गर्नुपर्ने सुझाव पोषणविदहरुले दिने गरेका छन् ।

उनीहरु ‘खानु’ मात्रलाई ठूलो कुरा मान्दैनन् । सन्तुलित रुपमा आवश्यकताअनुसार खानुपर्ने उनीहरुको सुझाव हुने गरेको छ । नखाईकन कोही पनि जिवित रहन सक्दैन् । तर स्वस्थ रहन कसरी खाने ? कति खाने ? भन्ने कुराले ठूलो महत्व राख्छ । असन्तुलित खानपिनले मानिसलाई झन बिरामी बनाउँछ ।

एउटा प्रख्यात भनाई छ, ‘संसारमा अधिकांश मानिसहरु खान नपाएरभन्दा पनि खान नजानेर रोगी हुने गरेका छन ।’ दशैंको बेलामा मासु धेरै खाने प्रचलन नेपालमा रहँदै आएको छ । यसरी खानु ठिक हो ? यदि खाने नै हो भने कसरी र कति मात्रामा खाने ? भन्ने कुरामा पोषणविद्हरुको फरक सुझाव छ । पोषणविद् मधु थापासँग गरिएको कुराकानी जस्ताको तस्तैः

मांसहारी भोजन शरिरलाई आवश्यक भए पनि रातो मासु स्वास्थ्यको दृष्टिकोणले लाभदायी हुँदैन ।मासुमा मसला धेरै हाल्नु हुँदैन । अहिले विश्वव्यापी रुपमा नै मुटुको रोगहरु बढिरहेको अवस्था छ । त्यस्तै, सुगर प्रेसर पनि बढ्दो छ । त्यस्ता रोगहरु वृद्धि गर्न पनि रातो मासु सहयोगी हुँदै आएको अवस्था छ ।

स्वास्थ्यमा नकारात्मक असर नपार्नका लागि खानपानमा धेरै ध्यान दिनुपर्छ । त्यसमा पनि मासु त सबैभन्दा पहिला स्वस्थ हुन जरुरी छ ।
त्यसपछि त्यो मासुलाई राम्रोसँग पकाउन जरुरी छ । त्यसरी पकाएको मासु पनि कसले कति खाने ? भन्ने कुराहरु पनि हुन्छन् । त्यसैले मासु खाने कुरा यतिकै राम्रो नराम्रो भन्न मिल्दैन । यसलाई यसरी बुझ्दा हुन्छ कि स्वस्थ मासुमा प्रोटिन पाइने भएकाले यो आवश्यक छ । मासुलाई मात्रा मिलाएर खान एकदमै जरुरी छ ।

हामीले मासु पोलेर पनि खाने गर्छौं । त्यसरी पोलेर खानु राम्रो मानिदैन । यसमा मुख्य कुरा भनेको पोल्ने क्रममा मासु राम्रोसँग पाक्दैन । सबैतिर एकनासले पाक्ने सम्भावना कम हुने भएकाले त्यस्तो पोलेको मासुले पनि पखाला लाग्ने, बान्ता हुने गर्छ ।

आँखाले नदेखिने किटाणुहरु तथा केमिकल पनि मासुमा बस्ने भएकाले त्यसले असर गर्छ । मुख्य कुरा प्रोटिन भएको खाने कुरा एकैपटकमा धेरै खानु हुँदैन । मासुमा प्रोटिनको मात्रा धेरै हुन्छ । यसलाई मात्रा मिलाएर खानु पर्छ ।

अझ गाउँघर तिर मासु राखेर निकै दिनसम्म पनि खाने चलन हुन्छ । मासु राख्ने ठाउँ राम्रो छ भने राखेको पनि ठिक हो तर कहिलेकाही दशैंको मासु धेरै भएर यस्तो गन्ध वा अर्कै स्वाद आएको होला भनेर खाँदा हामी बिरामी पर्न सक्छौं ।

मासु कुन तरिकाले पकाएको छ र कुन ठाउँमा राखिएको छ भन्ने कुराले स्टोरेजमा असर पर्छ । मासु तताएर राख्नुभन्दा काँचो मासु राख्नु ठिक हो । लामो समय राख्दा मासुबाट पाइने पोषकतत्व घट्दै जान्छ ।

खानेकुरा भनेको सधैं सबै कुरा मिलाएर खानु पर्छ । हाम्रो दशैमा धेरै समयसम्म मासु नै मासु खाने चलन छ । यस्तो बेलामा शरिरमा पानीको कमी हुन्छ । सोहीकारण मासु खाए पनि अन्य तरकारी, साग सब्जी, सलाद पनि खानु जरुरी छ । मात्रा मिलाएर खाए मासुबाट धेरै उर्जा मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close