
कमल कुमार न्यौपाने
पुस, १३ सुर्खेत ।
नेत्र विक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी राष्ट्रघाती भएको बताउनु भयो । जनपत्रकार संगठनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले शक्ति राष्ट्रको चेपुवामा पारेर नेपाललाई युद्धको भूमरीमा पार्ने सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै एमसीसी राष्ट्रघाती नै भएको बताउनु भयो ।
उहाँले एमसीसी लागु भएमा नेपालको राष्ट्रियतामा ईतिहासकै सर्वाधिक अमेरिकी हस्तक्षेप हुने बताउनु भयो । राजनीतिक र सैन्य बलको रणसंग्राम नेपाललाई बनाउने दाउमा अमेरिका रहेको भन्दै उहाँले जुनसुकै अवस्थामा पनि नेपालमा लागु हुन नहुने र त्यसका लागि थप जनदवाव निरन्तर बढाएर असफल बनाउने अभियान सञ्चालन गरिएको बताउनु भयो ।
विद्यमान राज्य व्यवस्था, सत्ता र सञ्चालकका कारणले देश अस्तव्यस्त बनेको आरोप लगाउदै प्रवक्ता विश्वकर्माले देशको उन्नति र प्रगतिका लागि व्यवस्था बदल्न जरुरी रहेको र त्यसको अन्तिम विकल्प जनमत संग्रह भएको टिप्पणी गर्नु भयो ।