तीन दिनमा पाँचको मृत्यु, स्थायीय आतङ्कित

जलेश्वर, चैत ५ । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ ।

नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष शशीभूषण चौधरीले बताए ।

उनका अनुसार गत मङ्गलबारदेखि अचानक उनीहरु बिरामी हुँदै र उपचार हुँदाहुँदै पनि सिकिस्त अवस्थामा पुगेर एकपछि अर्को गरी पाँचै जनाको मृत्यु भएको हो ।

एक्कासि बिरामी भएर भटाभट भएको उनीहरुको मृत्युले पूरै मनरा गाउँवासी आतङ्कित भएका छन् । उनीहरुको मृत्युको कारणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।

उनीहरुको मृत्यु विषाक्त मदिरा सेवनबाट भएको वडाध्यक्ष चौधरीको जिकिर छ । उनका अनुसार उपचारमा संलग्न चिकित्सकले उनीहरुको मृत्यु मदिरा सेवनबाट भएको बताएका छन् ।

महोत्तरीका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले उनीहरुको मृत्यु मदिरा सेवनबाट नभई अर्कै कारणले भएको हुनसक्ने आशङ्का गरेका छन् ।

वास्तविकता जे रहे पनि एउटै गाउँमा तीन दिनभित्र पाँच जनाको मृत्यु भएपछि गाउँले त्रसित छन् भने डरले गर्दा सबै आआफ्नै घरमा सीमित हुन थालेको स्थानीयवासी रवीन्द्र भगतले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close