समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिदैछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने काममा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।

७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज(बुधबार) सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैको सहयोगबाट मात्र सरकारको समृद्धिको लक्ष्य पूरा हुने भएकाले सहयोग गर्न आग्रह गरे ।

उनले सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको आरोपसमेत लगाए ।

समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्न, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेको भन्दै सरकार सबै चुनौतीलाई चिर्दै अगाडि बढ्ने बताए ।

उनले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य रहेको प्रष्ट पारे ।

उनले नेपालतर्फ विश्वजगतको ध्यानाकर्षण हुन थालेको भन्दै नेपालको गरिमा बढ्ने काममा जुटन आग्रह पनि गरे । प्रधानमन्त्रीले प्रजातन्त्र दिवसलाई औपचारिक रुपमा मात्र नभई जनस्तरसम्म मनाउनको लागि आग्रह पनि गरे ।

प्रधानमन्त्री ओलीले मुलकमा द्वन्द्व व्यवस्थापन भइसकेको भन्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा मुलुकको ध्यान केन्द्रीत भएको बताए ।

मुलुक बदलिएको प्रणालीको अभ्यासमा रहेकाले केही अलमल भएको भन्दै सरकार संविधान अनुसार नै अगाडि बढ्ने पनि बताए ।

प्रधानमन्त्रीले गरिबी, पछौटेपन र रोग मुलुकको शत्रु भएकाले यसको अन्त्यका लागि सरकार योजनावद्ध रुपमा अगाडि बढेको बताए ।

कार्यक्रममा प्रजातन्त्र दिवस अंकित झण्डासहितको नेपाली सेनाको हेलीकोप्टरबाट पुष्पवृष्टि गरीएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आ–आफ्नो कला प्रदर्शन गरेका थिए ।

त्यसैगरी महानगरपालिका, उपमहानगपालिकाहरुले आ–आफ्नो साँस्कृतिक कला र नृत्य प्रर्दशन गरेका थिए  ।

प्रजातन्त्र दिवसमा राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनालगायत संवेधानिक निकायका प्रमुखहरु, मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close