समाजले गाडिदिएको भ्रम– महिनावारी हुँदा कक्षाभित्र बसे ‘देउता’ रिसाउँछन्, विद्या हराउँछ

विद्यालयको आँगनमा पढ्दै विद्यार्थीहरु

जुम्ला/ तातोपानी गाउँपालिका–८ बारागाउँकी १८ वर्षीया मुगा रावत गाउँकै जनजागृति आधारभूत विद्यालयमा सात कक्षामा पढ्छिन् । महिनावारी हुँदा विद्यालयको आँगनबाट अगाडि बढ्न उनलाई आँट आउँदैन ।

‘कक्षाभित्र कसरी जानू ? देउता रिसाउँछन् रे, देउता रिसाए विद्या नै हराउँछ रे,’ मुगाले भनिन्, ‘पाँच दिन कटेपछि मात्रै कक्षामा छिर्ने हो ।’ मुगाका साथीहरू हाँसकुरा रावत, अनिशा रावत र अञ्जली रावतले बुझेको पनि यत्ति नै हो । महिनावारी हुँदा सकेसम्म विद्यालय नै नआउने र आए पनि कक्षाभित्र नजाने उनीहरूले बताए ।

महिनावारी भएकी छात्रा विद्यालय आए सो कक्षाका सबै विद्यार्थीलाई विद्यालयको मूलढोकानजिक आँगनमा राखेर पढाइन्छ । ‘कतिपटक त बाहिर बसेर पढिरहेका वेला पानी परेपछि बीचैमा घर जानुपरेको छ,’ हाँसकुराले भनिन्, ‘पालैपालो कोही न कोही महिनावारी होइन्छ, कक्षाभित्र पढ्ने त कहिलेकाहीँ मात्रै हो ।’ छात्रा मात्रै होइन, शिक्षिका पनि महिनावारी हुँदा कक्षाभित्र जाँदैनन् ।

समाजका अगुवा दाबी गर्नेहरूले नै विद्यालयका कोठाभित्र विगतमा देवीदेवताका मन्दिर रहेको र महिनावारी हुँदा भित्र गए देवता रिसाउने र बिरामीसमेत पारिदिने त्रास फैलाएका छन् । ‘महिनावारी हुँदा छात्रा र शिक्षिका कक्षामा छिर्नुहुँदैन, गयो भने बिरामी पर्छन्,’ स्थानीय झाँक्रीसमेत रहेका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शेरबहादुर रावतले दाबी गरे । अगुवाहरूले विद्यालयमा महिनावारी बार्नुपर्ने बाध्यता अन्त्य गर्नेभन्दा विद्यालय नै अन्यत्र सार्नुपर्ने बताउँदै आएका छन् । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले भने अन्धविश्वास मानेर पढाइमा बाधा पुर्‍याउनु गलत भएको बताए ।

नयापत्रिकाको लागि मानदत्त रावल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close