सामाजिक संस्कारले लिदै छ ज्यान, १० वर्षमा १८ को छाउगोठमा मृत्यु

छाउ (रजस्वला )को समयमा बस्ने घरहरु

सरकारले छाउपडी प्रथा उन्मूलनका लागि २०६२ सालमा चालेको अभियानलाई सर्वोच्च अदालतले २०६३ साल वैशाख १९ गते अनुमोदन गर्दै उक्त प्रथा नमान्न तथा अरुलाई जबर्जस्ती मान्न अभिप्रेरित गराउन नपाइने गरी फैसला गर्‍यो। सर्वोच्चले फैसला गरेको १४ वर्ष पूरा भए पनि सुदूरपश्चिममा त्यसको प्रभाव देखिएको छैन।

छाउपडी अन्त्यका लागि सुदूरपश्चिमका पहाडी जिल्लामा थुप्रै गैरसरकारी तथा सरकारी संस्था क्रियाशील छन्। ती संस्थाले वर्षेनी करोडौं रुपैयाँ खर्च गरे पनि उत्साहजनक उपलब्धि छैन। यति मात्र होइन, गैरसरकारी संस्थाले गरेको छाडपडीको नाममा गरेको खर्च र त्यसको प्रतिफलको लेखाजोखा भएको छैन।

छाउपडीकै नाममा वर्षेनी करोडौं खर्च भए पनि सुदूरपश्चिमका पहाडी गाउँमा यो कुप्रथा ज्यूँकात्यू छ।

सरकारले छाउपडी प्रथा उन्मूलनसम्बन्धी निर्देशिका २०६४ समेत जारी गरेको छ। छाउपडी प्रथालाई पहिलोपटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराधसंहिता विधेयक २०७४’ पारित भएको छ। स्थानीय निकायले छाउपडी उन्मूलनका लागि कार्यक्रम गरे पनि उपलब्धि प्रभावकारी हुन सकेको छैन।

पछिल्लो तथ्याङ्‍क अनुसार सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाम र बाजुरामा मात्रै पछिल्लो १० वर्षमा १८ जना महिलाले छाउगोठमा ज्यान गुमाएका छन्।

महिनावारी भएका बेला परिवारसँग बस्दा देउता रिसाउने र घरमा अशान्ति छाउने अन्धविश्वासले अझै पनि सुदूरपश्चिममा महिनावारी बार्ने चलन रहँदै आएको छ। आइबार राति महिनावारी बार्न घरदेखि टाढा बनाइएको छाउगोठमा सुत्दा अछाममा एक महिलाको मृत्यु भएको थियो।

पछिल्ला १० वर्षमा छाउगोठमा बस्नेमध्ये अछाममा १५ र बाजुरामा ३ जनाको मृत्यु भइसकेको छ। छाउगोठ असुरक्षित र चिसो हुने भएकाले महिलाले ज्यान गुमाउनु परेको पाइएको छ। वर्षा याममा छाउगोठमा सर्पले टोक्ने तथा चिसोमा छाउगोठ न्यानो बनाउन बालेको आगोका कारण निसासिएर अधिकांश महिलाको मृत्यु हुने गरेकोे छ।

सोमबार मृत्यु भएकी साफेबगर नगरपालिका-३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको कोठा न्यानो पार्न बालेको आगोका कारण निसासिएर मृत्यु भएको प्रहरीको भनाइ छ। अछामको मेल्लेख गाउपालिका-७, नन्देगडा माइती घर भएकी पार्वतीको १८ महिना पहिलेमात्रै विवाह भएको थियो। यस्तै, अछामको तुर्माखाद गाउँपालिका-४ की पार्वती बुढा, सोही गाउँपालिका-३ की गौरी बुढा, गाज्राकी रोशनी तिरुवा, तिमिल्सैनकी डम्मरा उपाध्याय, रिडिकोटकी शर्मिला भूल, ढकारीकी लक्ष्मी बुढाको पनि महिनावारी बार्न छाउगोठमा सुतेका बेला मृत्यु भएको थियो।

अछामकै बारलाकी झुमादेवी शाही, वीरपथकी डिक्रादेवी ढकाल, पायलकी रतनदेवी विक, झुप्री ढोली, पायलकै पार्वती दमाई, नाडाकी हंसा जैशी र रानीवनकी हंसदेवी जोशीकोसमेत छाउगोठमै मृत्यु भएको थियो।

महिनावारी बार्न छाउगोठमा बस्दा बाजुरामा मात्रै गत वर्ष तीन आमाछोराको मृत्यु भएको थियो। छाउगोठ न्यानो पार्न बालेको आगोबाट निस्केको धुँवामा निसासिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका-९, अंगाउपानीकी ३५ वर्षीय अम्बा बोहोरा, उनका ९ वर्षीय छोरा सुरेश बोहोरा र ७ वर्षीय छोरा रमित बोहोरा रहेका थिए।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close