धेरै कमाउने र गुमाउने कम्पनी

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणका आधारमा खूद नाफा र अधिकांश सूचकमा टप थ्रीमा पर्न सफल एनआइसी एशिया बैंकको दोश्रो बजार मूल्य समेत बढ्न थालेको छ ।

दोश्रो बजार मूल्यमा एनआइसी एशिया बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई टप्ने प्रयास गरिरहेको छ भने नवील बैंक लिमीटेडलाई भेट्याउने यात्रातर्फ उन्मुख देखिएको छ । यहीकारण साताको पहिलो कारोबार दिन एनआइसी एशियाको सेयरमा लगानीकर्ताको आकर्षण देखियो ।

एनआइसी एशिया बैंकले पहिलो त्रैमासमै खूद नाफा बढाएर १ अर्ब माथि पुर्याएको वित्तीय विवरण सार्वजनिक गरेको थियो । यसको सकारात्मक प्रभाव बजारमा देखियो । फलस्वरुप यो दिन सबैभन्दा बढी कमाउने वाणिज्य बैंकमा एनआइसी एशियाका लगानीकर्ता अग्रपंक्तिमा देखिए ।

दोश्रो बजारमा एनआइसी एशियाको प्रतिकित्ता सेयर मूल्य रु. ४१८ रुपैयाँ पुगेको छ । आइतबार मात्रै बैंकको सेयर मूल्यमा करिब ३ प्रतिशतको बढोत्तरी भयो । अब दोश्रो बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य एनआइसी एशियाको भन्दा ४ रुपैयाँले मात्र बढी छ । प्रतिकित्ता ४२२ रुपैयाँमा कारोबार भइरहेको छ ।

नवील बैंकको दोश्रो बजार मूल्य प्रतिकित्ता रु. ७५५ रहेको छ ।

एनआइसी एशियाले नेपाल इन्भेष्टमेन्ट बैंकलाई टप्न खोजिरहँदा एनएमबी बैंकले समेत वृद्धिको यात्रालाई निरन्तरता दिएको छ । एनएमबी बैंकको दोश्रो बजार मूल्य प्रतिकित्ता रु. ३८५ को उचाईमा पुगिसकेको छ । यो बैंकले समेत पछिल्लो पटक अधिकांश सूचकमा राम्रो प्रगति गरेको छ ।

दोश्रो बजारमा सूचिकृत २७ वाणिज्य बैंकमध्ये एनआइसी एशियाभन्दा अगाडि हिमालयन बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि छन् । हिमालयन बैंक र स्ट्याण्डर्ड चार्र्टर्डको अन्तिम बिक्री मूल्य क्रमशः प्रतिकित्ता रु. ४८० र ५५० रहेको छ ।

आइतबार ४.५९ अंकले घटेको नेप्से परिसूचक ११३१.३६ को विन्दूमा सीमित हुन पुगे पनि कारोबार रकम ३५ करोड माथि भएको छ, जसमा शिवम सिमेन्ट, एनआइसी एशिया बैंक, नेपाल बैंक, एनएमबी बैंकको विशेष योगदान रहेको देखिएको छ ।

पहिलो त्रैमासमा निराशाजनक वित्तीय विवरण सार्वजनिक गरेको शिवम् सिमेन्टको मूल्य घटिरहेको छ । मूल्यमा गिरावट आउनु र योसँगै सबैभन्दा बढी कारोबार पनि सोही कम्पनीले गर्नुले शिवम सिमेन्टको सेयर बिक्रीमा चाप परेको सहजै अनुमान लगाउन सकिन्छ।

यो दिन व्यापार र अन्य समूहमा क्रमशः २७.०९ तथा २.५१ अंकको बढोत्तरी भए पनि बाँकी सबै उपसमूहको सूचकमा गिरावट आएको छ।

राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२२ अंकको गिरावट देखिएको छ ।

यो दिन बैंकिङ समूह ०.४७ अंकले घटेको छ भने होटल समूह ५१.६९ अंक, विकास बैंक समूह १.२१ अंक, जलविद्युतत समूह १७.३६ अंक, बित्त समूह ५.७८ अंक, निर्जीवन बिमा समूह २६.६४ अंक, उत्पादन तथा प्रशोधन समूह १०३.५३ अंक, माइक्रोफाइनान्स समूह ३.७५ अंक, जीवन बिमा समूह १३.१५ अंक र म्युचुअल फण्ड समूह ०.०६ अंकले घटेका छन् ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६३ कम्पनीका ११ लाख ६७ हजार ६०५ कित्ता सेयर ३५ करोड ५१ लाख ५९ हजार ७६८ रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी शिवम सिमेन्टले ४ करोड ४ लाख बढीको कारोबार गरेको छ ।

एनआइसी एशिया बैंकले ३ करोड ९३ लाख, एनएमबी बैंकले ३ करोड २३ लाख, नेपाल बैंकले ३ करोड १४ लाख, हिमालयन डिस्टीलरीले १ करोड २० लाख, प्राइम कमर्सियल बैंकले १ करोड १२ लाख, सेञ्चुरी बैंकले ८५ लाख, प्रभू बैंकले ८३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ८० लाख र नवील बैंकले ५५ लाख बढीको कारोबार गरेका छन् ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन तीनवटा कम्पनीको सेयरमा पोजिटिभ सर्किट लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको  मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०३७ रुपैयाँ पुगेको छ ।

यस्तै, घोडाघोडी लघुवित्त र पाँचथर पावरको सेयर मूल्यमा समेत १० प्रतिशत हाराहारीको बढोत्तरीका कारण पोजिटिभ सर्किट लागेको छ।

यो दिन शिवम सिमेन्टका लगानीकर्ताले धेरै गुमाएका छन् । यो कम्पनीको सेयर मूल्यमा पहिरो गई नेगेटिभ सर्किट लाग्यो । मूल्य घटेर प्रतिकित्ता ४३३ रुपैयाँमा सीमित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close