दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते

दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन्।

लमही नगरपालिका वडा नं. २ का ८ वर्षीय बालक शिरिस गिरी, ३० वर्षीय मिठ्ठु चौधरी, ५० वर्षीया धनियाँ चौधरी र लमही वडा नं. १ की ४० वर्षीया हिरादेवी चौधरी जंगली बँदेलको आक्रमनबाट घाइते भएका छन्।

घाइतेमध्ये शिरिस र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।

पौडेलका अनुसार धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको छ।

अधिकांश घाइतेहरूलाई खुट्टा र तिघ्रामा बँदेलले आक्रमण गरी गहिरो घाउ खत बनाएको छ।

बुटवल रिफर गरिएका शिरिस र मिठ्ठुलाई भने ढाड, छाती लगाए शरीरका विभिन्न भागमा घाउ चोट लागेको छ।

प्रहरी निरीक्षक पौडेलले वन खुलेपछि सुकेका दाउरा र माघीको तयारीका लागि मालुका पात लिन भनेर लमही १ स्थित सिङ्गेखोला सामुदायिक वनमा गएको समयमा जंगली बँदेलले आक्रमण गरेर घाइते बनाएको जानकारी दिए।

‘बँदेलले बच्चा जन्माएको रहेछ,’ पौडेलले भने, ‘बँदेलले आफ्ना बच्चा लिन आए भन्ने ठानेर आक्रमण गरेको भन्ने छ।’

शनिबार माघी पर्वको तयारीका लागि भन्दै लामो समयको अन्तरालपछि वन खोलिएको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close