
ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को आयोजना तथा समन्वयमा सञ्चालित ‘बालिका शैक्षिक सहयोग कार्यक्रम’ अन्तर्गत बराहताल गाउँपालिकाका ५९ जना बालिका विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद सहयोग वितरण गरिएको छ।
आर्थिक अवस्था कमजोर भएका, सीमान्तकृत तथा जेहेन्दार बालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउने र विद्यालयमा उनीहरूको निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले बालिका शिक्षाको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। विपन्न तथा जेहेन्दार बालिकालाई लक्षित गरी गरिएको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले शिक्षा क्षेत्रलाई स्थानीय सरकारले विशेष प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो।
उहाँले आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्नेमा गाउँपालिका सचेत रहेको बताउँदै रेष्टले गरेको सहयोगले स्थानीय शैक्षिक अभियानलाई थप बल पुगेको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि यस्ता सकारात्मक कार्यक्रमलाई आवश्यक समन्वय र सहयोग गरिने उहाँको भनाइ थियो।
त्यस्तै वडा नं. ५ का वडाध्यक्ष धिमराज जोल्मीले बालिका शिक्षा र सशक्तीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। छोरीहरूलाई शिक्षित बनाउन सके मात्र समाजको वास्तविक रूपान्तरण सम्भव हुने उहाँले बताउनुभयो।
उहाँले शैक्षिक सामग्री र नगद सहयोगले बालिकाहरूलाई विद्यालयमा टिकाइराख्न तथा उनीहरूको मनोबल बढाउन सहयोग पुग्ने उल्लेख गर्दै विद्यार्थीलाई लगनशीलतापूर्वक अध्ययनमा अग्रसर हुन आग्रह गर्नुभयो।
जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले उपलब्ध गराइएको सामग्रीले बालिकाहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
ग्रामीण क्षेत्रमा स्वास्थ्य र शिक्षाको अवस्था सुधारका लागि सक्रिय रेष्टले लामो समयदेखि विपन्न बालिकाको शिक्षामा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिका तथा स्थानीय निकायसँगको समन्वयमा वास्तविक आवश्यकता भएका बालिकाको पहिचान गरी सहयोग उपलब्ध गराइएको संस्थाले जनाएको छ।
नयाँ शैक्षिक सत्रको सुरुवातसँगै आवश्यक सामग्री र नगद सहयोग पाएपछि विद्यार्थीहरू उत्साहित बनेका छन्।






