
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको हालसालैको “अब कुनै पनि सरकारी कार्यक्रम होटलमा नगर्ने” भन्ने अभिव्यक्तिप्रति होटल व्यवसायीहरूले कडा आपत्ति जनाएका छन्।
होटल व्यवसायी संघ सुर्खेतले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, निरुत्साहजनक र गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेको हो।
संघकी अध्यक्ष प्रतिभा वलीका अनुसार कोभिड–१९ महामारीपछि ऋण र घाटाबाट अझै पूर्ण रूपमा उठ्न नसकेको अवस्थामा आएको यस्तो संवेदनशील अभिव्यक्तिले होटल क्षेत्रलाई थप संकटमा धकेल्ने चेतावनी दिइएको छ।
व्यवसायीहरूले मुख्यमन्त्रीलाई उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन माग गर्दै, प्रदेशमा व्यवसायमैत्री वातावरण बनाउन आग्रह गरेका छन्। साथै होटल तथा पर्यटन व्यवसायलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्ने नीतिगत व्यवस्था मिलाउन दबाब दिएका छन्।
संघले सुर्खेत विमानस्थलबाटै कैलाश मानसरोवर हवाई यात्रा सुरु गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गरेको छ। संघका अनुसार यसले धार्मिक पर्यटनसँगै कर्णालीको होटल र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ।
होटल व्यवसायीहरूले विगतमा सरकारले हवाई यातायातमा सहुलियत दिने नीति र कार्यक्रम ल्याए पनि कार्यान्वयन नभएकाले पर्यटक आगमन घटेको र होटल व्यवसाय थप क्षतिग्रस्त भएको गुनासो गरेका छन्। त्यसैले तत्काल सहुलियतपूर्ण हवाई सेवा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।
यसैबीच, होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले पनि मुख्यमन्त्रीको अभिव्यक्तिले संकटमा रहेका व्यवसायीलाई निरुत्साहित बनाएको भन्दै दुःख प्रकट गरेका छन्।





