निर्वाचन जित्ने रणनीतिसहित नेपाली काँग्रेस कर्णाली प्रदेश प्रचार–प्रसार मूल समिति सक्रिय (भिडियो सहित)

नेपाली काँग्रेस कर्णाली प्रदेश प्रचार–प्रसार विभाग प्रमुख तथा निर्वाचन प्रचार–प्रसार मूल समिति संयोजक गोविन्द कोइरालाले कर्णाली प्रदेशभरका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको पक्षमा जनमत सिर्जना गर्न तीनवटा मुख्य समिति सक्रिय रूपमा परिचालित भएको बताउनुभएको छ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक कोइरालाले निर्वाचन परिचालन मूल समिति, निर्वाचन व्यवस्थापन सचिवालय मूल समिति र निर्वाचन प्रचार–प्रसार मूल समितिले तोकिएको जिम्मेवारीअनुसार काम अघि बढाइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार तीनवटै समितिले आपसी समन्वयमा प्रदेशका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन्।

कोइरालाले केन्द्रीय प्रचार–प्रसार मूल समितिसँगको समन्वयमा प्रदेश स्तरबाट पनि प्रचार अभियान सुदृढ बनाइएको उल्लेख गर्नुभयो। पार्टीका एजेन्डा, उम्मेदवारका कार्यक्रम तथा चुनावी गतिविधिलाई व्यवस्थित ढंगले सार्वजनिक गर्ने कामलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ।

पत्रकार सम्मेलनमै केन्द्रीय सदस्य नारायण भट्टराईले उम्मेदवार केन्द्रित प्रचार–प्रसारमा प्रभावकारी समन्वय भइरहेको बताउनुभयो। “बदलियो काँग्रेस, बदल्छौं देश” भन्ने पार्टीको नारालाई आम मतदातासम्म स्पष्ट रूपमा पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसलाई विजयी गराउन सबै तहका समिति सक्रिय रूपमा लागेको बताउनुभयो।

पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा सशक्त जनमत निर्माण गर्दै उम्मेदवारलाई विजयी गराउने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको जनाएको छ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close